काठमाडौं, भदौ २७। भदौ २३ र २४ गते जेन जेड (Gen-Z) आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसद् प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षले स्तब्ध भएको जनाउनु भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त हस्ताक्षर गरी जारी गर्नु भएको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाएका प्रहरीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रलाई उहाँहरूले विशेष आग्रह गर्नु भएको छ । भदौ २४ गते बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबारस्थित संघीय संसद् सचिवालयसहित विभिन्न सरकारी कार्यालय, आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति र ऐतिहासिक दस्ताबेजमा आगजनी तथा तोडफोड भएको घटनाले मर्माहत बनाएको वक्तव्यमा उल्लेख छ। संसद् भवन र सचिवालयसहित देशभरि भएको आगजनीलाई अपूरणीय क्षति भएको ठहर गर्दै उहाँहरूले चिन्ता व्यक्त गर्नुभएको छ।
देशमा उत्पन्न विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्नेमा जोड दिँदै उहाँहरूले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर राख्दै राष्ट्रपतिले गरिरहनुभएको पहलप्रति सम्मान प्रकट गर्नु भएको छ । ‘विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौँ’ वक्तव्यमा भनिएको छ।
आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्र निर्माणमा सबैलाई प्रतिबद्ध हुन पनि उहाँहरूले अपिल गर्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्