जनता टाइम्स

१ आश्विन २०८२, बुधबार १४:२५

एमालेले जेनजी आन्दोलनका नाममा हिंसात्मक घटनामा संलग्नलाई सुरु गर्याे कारबाही 


झापा, असाेज १  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जेनजी आन्दोलनको नाममा हिंसात्मक घटनामा संलग्न कार्यकर्ताहरू माथि कारबाही सुरु गरेको छ ।

झापाको कमल गाउँ कमिटीले पार्टी सदस्य वीरेन्द्रप्रसाद तिवारीलाई अनुशासनात्मक कारबाही गर्दै सदस्यताबाट निष्कासन गरेको छ।गाउँ कमिटीका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र तालाबन्दीमा तिवारी संलग्न रहेको प्रमाण फेला परेपछि यस्तो कारबाही गरिएको हो। कमिटीले सिसिटिभी फुटेज, सामाजिक सञ्जालमा आएका फोटो–भिडियो र प्रत्यक्षदर्शीको बयानका आधारमा तिवारीको संलग्नता देखिएको जनाएको छ। ‘पार्टी विधानको धारा ८१ बमोजिम तिवारीलाई आजकै मितिदेखि सदस्य नै नरहने गरी अनुशासनात्मक कारबाही गरिएको जानकारी गराउँछौँ,’ गाउँ कमिटीका अध्यक्ष हरिप्रसाद ढकाल र सचिव वीरेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

लोकतान्त्रिक आन्दोलनको आवरणमा गरिएको तोडफोडलाई पार्टीले स्वीकार गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ। साथै, थप प्रमाणका आधारमा अन्य सदस्य पनि संलग्न देखिएमा क्रमशः कारबाही गरिने चेतावनी दिइएको छ।

एमालेले आफू लोकतन्त्र र विधिको शासनमा आस्था राख्ने पार्टी भएको दोहोर्‍याउँदै जायज माग राख्न शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई आग्रह गरेको छ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा मिसिएर सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्न पाइए जो सुकैलाई कारबाही हुने बताउनुभएको छ ।