रामेछाप, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
दिवस मूल आयोजक समितिको आयोजनामा मन्थलीको मदन–आश्रित चोकबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो। जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा रामेछाप बारका अध्यक्ष यादव दाहालले ‘नेपालको संविधान २०७२ र यसको विशेषता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमाथि जिल्लास्तरीय राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमकी अध्यक्ष जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले अहिले देश जटिल सङ्क्रमणको अवस्थामा रहेको उल्लेख गर्दै संविधान र व्यवस्थाको संरक्षणका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सबैले आ–आफ्नो ठाउँबाट सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो। देशमा सङ्कट आउँदा वा सफलता हात पारेका बेला पनि कुनै न कुनै रूपमा सबै जिम्मेवार हुने भएकाले सोही भावनाका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयाे ।
संविधानले नै वर्तमान उपलब्धि सम्भव गराएको भन्दै प्रमुख कार्कीले यसको संरक्षणमा सबै लाग्नुपर्ने धारणा राख्नुभयो। लामो संघर्ष र कष्टपछि प्राप्त यो व्यवस्थालाई जोगाउन सबैको साझा दायित्व रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानमध्ये एक भएको उल्लेख गर्नुभयो। संविधान कार्यान्वयनका क्रममा कमजोरी देखिएको स्थानमा आत्मसमिक्षा गरेर सुधार गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। को कहाँ चुक्यो भन्ने विषयमा गहिरो मनन गरी आगामी दिनमा संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो।
कार्यक्रममा जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरू र नागरिक अगुवाहरूको समेत सहभागिता रहेको थियो।
दिवसकाे अवसरमा मन्थलीका विभिन्न अस्पतालमा भएका बिरामीहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण पनि गरिएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्