जनता टाइम्स

३ आश्विन २०८२, शुक्रबार ११:२०

लोकतान्त्रिक विधि–प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै साझा लक्ष्य :  चेतनारायण आचार्य


दाङ, असोज ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रदेशको प्रशासनिक केन्द्र देउखुरीस्थित राप्ती उपत्यकामा शुक्रबार मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै आचार्यले  समृद्ध लुम्बिनी, खुसी नागरिक  प्रदेश सर कारको मूल सङ्कल्प भएको बताउनुभयो ।  ‘युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जबाफदेही र जिम्मेवार ढङ्गले अघि बढाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ। लोकतान्त्रिक विधि–प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो, यही लक्ष्यले मुलुकलाई निकास दिनेछ भन्नेमा म विश्वस्त छु’,  उहाँले भन्नुभयो ।

सेवा प्रवाहमा ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले कार्यशैली र तौर–तरिकामा परिवर्तन अपरिहार्य रहेको औँल्याउनुभयो।

संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने सङ्कल्प बोकेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संविधान, दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दोस्रो आवधिक योजनालाई आधार मान्दै नीतिगत, संरचनात्मक र कानुनी सुधारका कार्यलाई अघि बढाइरहेको जानकारी दिनुभयो।  सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी र जबाफदेही कार्यशैली, नागरिकका गुनासाहरूको समयमै सम्बोधन, मितव्ययिता र सदाचारपूर्ण आचरणलाई प्रवर्द्धन गर्दै सरकार नागरिकलाई सेवा पुर्‍याउन केन्द्रित रहेको उहाँले बताउनुभयो ।

समारोहमा सभामुख तुलाराम घर्ती मगरले संविधानभित्रबाटै समस्याको समाधान खोज्नुपर्ने धारणा राख्नुभयो । ‘हाम्रो संविधान अब्बल संविधान हो, यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ, अहिले देखिएको विद्रोहको व्यवस्थापन पनि संविधानभित्रै गर्नुपर्छ, आत्मसमिक्षा गरेर कार्यशैली बदल्न सक्नुपर्छ, जनता असन्तुष्ट हुने गरी काम गर्नु हुँदैन’, उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, ‘सबैका आ–आफ्ना गुनासा छन्, ती गुनासालाई संविधानलाई अझ माटोसँग सुहाउने बनाउँदै सम्बोधन गर्न जरुरी छ। यही संविधानमा टेकेर देशको विकास गर्ने दायित्व सबैकै हो, सबै नेपालीलाई एउटै ठाउँमा ल्याउन आवश्यक छ, सुशासन र विकास दिन जरुरी छ, अराजकतामा सुशासन खोज्नु कठिन हुन्छ। घुसपैठ र आगजनीको पूर्ण छानबिन हुनुपर्छ’, उहाँले भन्नुभयो ।

त्यसै गरी, पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘यो संविधान दस वर्ष पूरा गरी एघारौँ वर्षमा प्रवेश गर्दै छ, यो लामो अवधि हो। धेरै परिवर्तन भइरहेका हुन्छन्, अब सामाजिक परिवर्तनको नेतृत्व संविधानले नै गर्नुपर्छ, विकासको जुन चरण हुन्छ, त्यसलाई संविधानले समेट्दै लैजानुपर्छ, नयाँ समाजलाई दिशा देखाउने क्षमता संविधानले राख्दछ।’