काठमाडौं, असोज ५ । जेनजी आन्दोलनका घाइतेहरू आफ्ना माग राख्न सिंहदरबार पुग्दा प्रवेश पास नपाएपछि आइतबार दक्षिण गेटमै धर्नामा बसे ।
आन्दोलनकै बलमा प्रधानमन्त्री र मन्त्री बनेका व्यक्तिलाई भेट्नसमेत कठिनाइ भएपछि घाइतेहरूले अपमानित भएको महसुस गर्दै गेटमै विरोध जनाएका हुन् । अस्पतालको मेडिकल रिपोर्ट बोकेर सिंहदरबार पुगेका घाइतेहरूमध्ये कतिपय अझै पनि आलो घाउसहित छन् भने केही वैशाखीको सहारामा सिंहदरबार गेटमा पुगेका थिए । तर उनीहरूलाई भित्र पस्न नदिइएको घटनाले आन्दोलन र सत्ताबिचको दूरी स्पष्ट भएको छ ।

‘हामीले आन्दोलन गरेर सिंहदरबार पुर्याएका हौँ, तर आज त्यहीँ भित्र पस्न नदिएर गेटमै रोकियो, यो अपमान सह्य हुँदैन, हामी फेरि आन्दोलनमा उत्रन बाध्य हुनेछौँ, जेनजीकाे आन्दोलन हाइज्याक भयो, विदेशीको पैसा खा नेहरुले आन्दोलन हाइज्याक गरे, वास्तविक जेनजी हामी हौँ’, आन्दाेलनकारीले भने ।
आन्दोलनका क्रममा गम्भीर घाइते धेरै जना अझै पनि उपचारमा नै छन् । बिरामीको उपचार, क्षतिपूर्ति र दीर्घकालीन जीवन निर्वाहको ग्यारेन्टी गर्नु पर्ने पीडितको माग छ । तर राज्यले आजसम्म पनि औपचारिक रूपमा माग सम्बोधन नगरेको गुनासो उनीहरूको छ ।

मेडिकल रिपोर्टमा उपचार खर्च, अपाङ्गता र स्वास्थ्य जटिलताबारे स्पष्ट विवरण भए पनि सिंहदरबारभित्र पुर्याउनै नपाएका कारण उहाँहरू गेटमै बस्न बाध्य भएको उनीहरूले बताए । घाइतेहरूले भने ‘हामीलाई आन्दोलनका लागि प्रयोग गरियो, तर अहिले बेवास्ता गरियो, यसलाई बेवास्ता गर्न मिल्दैन ।’

आन्दोलनकारीकै बलमा सत्तामा पुगेका नेताहरूले आफ्नै आन्दोलनकारीलाई भेट्नै नसक्ने अवस्था सिर्जना हुनु विडम्बना भएको उनीहरूको गुनासो छ । घाइतेहरूले चेतावनी दिए, ‘हामीलाई फेरि सडकमा निस्कन बाध्य नपारियोस्।’













प्रतिक्रिया दिनुहोस्