जनता टाइम्स

७ आश्विन २०८२, मंगलवार ११:०७

उद्योगमन्त्री सिन्हाले उल्ट्याए पूर्वमन्त्री भण्डारीको निर्णय, अब सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगको अनिवार्यता हट्यो


काठमाडौं, असोज ७। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा नेपालमै उत्पादित काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्नुपर्ने निर्णय गरेका छन् ।

यसअघि उद्योग मन्त्री रहेका दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने कार्यविधि मन्त्रिपरिषदबाट पारित गरी नेपाल राजपत्रमा प्रकाशित गराइसक्नु भएको थियो । भण्डारीले पदभार ग्रहणसँगै स्वदेशी वस्तु प्रयोगसम्बन्धी प्रस्ताव अघि सार्नुभएको थियो भने स्वदेशी वस्तु प्रयोग नगर्ने निकायलाई बेरुजु समेत निकाल्ने तयारी गर्नुभएको थियो । तत्कालीन मन्त्री भण्डारीले सबैभन्दा बढी स्वदेशी वस्तु प्रयोग गर्ने निकायलाई पुरस्कार दिने समेत जनाउनु भएको थियो ।

तर हालै परिवर्तन भएको अन्तरिम सरकारको कानुन तथा भूमि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका उद्योग मन्त्री सिन्हाले भने सार्वजनिक निकायमा प्रयोग हुने सामग्रीमध्ये फर्निचरमा मात्र स्वदेशी काठको प्रयोग अनिवार्य गर्ने निर्णय गर्नुभएको छ ।

सिन्हाले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै मुलुकमा सुशासन र स्थायित्व कायम गर्ने लक्ष्यसहित यो निर्णय गरिएको बताए पनि विदेशीलाई खुसी पार्न फर्निचर मात्र स्वदेशी प्रयोग गर्ने निर्णय गरेको सहजै बुझ्न सकिने मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।

मन्त्री सिन्हाको यो निर्णयले नेपाली उद्यमीहरू निराश र विदेशी धेरै खुसी भएका छन् । स्वदेशी उत्पादन प्रयोग अनिवार्य गर्ने निर्णय उल्ट्याएर उद्योग मन्त्री सिन्हाले विदेशी पोस्ने नीति किन लिनुभयो भन्ने प्रश्न मन्त्रालयकै कर्मचारीहरू गरिरहेका छन् । यो निर्णयसँगै उद्योग मन्त्री सिन्हाको नाम स्वदेशी उत्पादन रोकेर विदेशी पोस्ने खलनायकका रूपमा इतिहासमा कालो अक्षरले लेखिन भएको छ ।