जनता टाइम्स

९ आश्विन २०८२, बिहीबार ०७:३३

जेनजी कर्मचारीका नाममा धाकधम्की हुन थालेपछि मन्त्री खनाल भन्नुभयो, ढुक्क भएर काम गर्नुहोस्


काठमाडौं, ९ असोज । केही सरकारी कर्मचारीले सार्वजनिक संस्थान र कार्यालयमा जेनजी नेपाल खोल्दै जिम्मेवार पदाधिकारी र निश्चित व्यक्तिको बर्खास्ती तथा राजीनामा माग्दै धाकधम्की दिने र ट्रेड युनियन खारेजको माग गर्दै आफैं ट्रेड युनियन अभ्यास गर्न थालेपछि सामान्य प्रशासन मन्त्रीसमेत रहेका अर्थमन्त्री रामेश्वर खनालले वक्तव्य निकाल्नुभएको छ । उहाँले वक्तव्यमार्फत जारी गर्दै कर्मचारीहरुलाई ढुक्क भएर काम गर्न भन्नुभएको छ ।

जेनजी आन्दोलनपछि नागरिक सरकार बनेको अवस्थामा कर्मचारीहरुलाई विभिन्न बहानामा धाकधम्की आएपछि मन्त्री खनालले कर्मचारीलाई ढाडस दिनुभएको हो । उहाँले नेपाल सरकारले राष्ट्र सेवक कर्मचारीहरुको कानून बमोजिमका सेवाका सर्तको सुरक्षा र वृत्ति विकास एवं सेवा, सुविधामा असर पर्ने गरी कुनै निर्णय नलिने जानकारी गराउनुभएको छ । ‘प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शीता सहितको गुणस्तरीय सेवा प्रवाहमा अविच्छिन्नता सुनिश्चित गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुमा उच्च मनोवल कायम राखिरहन सरकार सधैँ प्रतिवद्ध रहेको कुरा स्पष्ट पार्न चाहन्छु’, मन्त्री खनालले भन्नुभएको छ, ‘कार्यबोझ कम भएका कार्यालयको दरबन्दी घटाई कार्यवोझ बढी भएका र सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुने कार्यालयहरुमा दरबन्दी वृद्धि गर्ने गरी कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने वर्तमान सरकारको नीति रहेको समेत जानकारी गराउँदछु ।’
त्यस्तै सबै सरकारी कार्यालयहरुमा सुरक्षित कार्य वातावरण निर्माण गरी निर्वाध सेवा प्रवाह सुनिश्चित गर्न समेत नेपाल सरकार प्रतिवद्ध रहेको वक्तव्यमा भनिएको छ ।

‘सम्पूर्ण निजामती कर्मचारीहरुको केन्द्रीय निकाय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीको हैसियतमा म सबै कर्मचारी साथीहरुलाई स्वतःस्फूर्त रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित हुन र कर्मचारीको मनोवल कमजोर पार्ने खालका क्रियाकलाप एवम् कार्यालयको काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन आव्हान गर्दछु’, मन्त्री खनालले भन्नुभएको छ ।