जनता टाइम्स

२३ आश्विन २०८२, बिहीबार ११:५५

राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नु पर्छ : महेश बर्ताैला


काठमाडौं, असोज २३ । नेकपा (एमाले) का नेता महेश बर्ताैलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘राज्यविरुद्धको अपराध’ को आरोपमा तत्काल गिरफ्तार गर्नुपर्ने माग गर्नु भएकाे छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत बर्ताैलाले प्रहरीले नियन्त्रणमा राखेका हतियार (बन्दुक र गोली) हरू कहाँ र कोसँग छन् भन्ने जानकारी वर्तमान गृहमन्त्रीलाई पुरै हुनुपर्ने दाबी गर्नुभएको छ। ‘प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र कसको हातमा छन् भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्छ। किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरू सहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनियोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन’, उहाँले लेख्नु भएको छ ।

उहाँले आन्दोलित युवा पुस्ता (जेनेरेसन जेड) द्वारा अगाडि बढाइएका शान्तिपूर्ण मागहरूमाथि ‘सुशोभित घुसपैठ’ गरी हिंसा भड्काउने, विध्वंस मच्चाउने तथा ऐतिहासिक तथा संवैधानिक संस्थानहरूको विनाश गराउने कार्यमा वर्तमान गृहमन्त्री लगायतका व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाउनुभएको छ। बर्तैले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार कार्यालय र प्रहरी चौकीहरूमा आगजनीसमेत गराएर ध्वस्त पार्ने नियतका गतिविधिहरूका योजनाकारको रूपमा गृहमन्त्रीलाई औँल्याउनुभएको छ।  ‘हाम्रो इतिहास , सम्पदा र दस्ताबेजहरू छानी छानी नष्ट गर्ने, ब्यक्तिएका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी’, बर्ताैलाकाे आरोप छ ।

शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ र त्यसबाट उत्पन्न हिंसा र विध्वंसका घटनाका प्रमुख स्टेकहोल्डर अहिलेका गृहमन्त्री नै भएको उहाँको दाबी छ ।  बर्ताैलाले न्यायिक र कानुनी प्रक्रिया अघि बढाउन सकिने प्रमाणहरु हुँदाहुँदै पनि लिखित रूपमा दोषीहरूमाथि कारबाही नगर्न गृहमन्त्रीले निर्देशन दिएको बताउनु भएको छ । ‘शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन्  कि शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शपथ ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाणहरू रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन नै दिए, जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहीनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको छ, त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरी राज्य विरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइनु पर्दछ’, उहाँको धारणा छ ।

राज्यले यस्ता घटनामाथि प्रभावकारी कदम नचाल्ने हो भने जनस्तरबाट स्वतः कारबाही र सामाजिक जबाफदेहिता खोजिने प्रवृत्ति बढ्न सक्ने उहाँको चेतावनी छ ।