काठमाडौं, असोज २४। असोज १७ गते रातिदेखि लगातार तीन दिनसम्म परेको अविरल वर्षाकाे कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग पुनः सञ्चालनका लागि अस्थायी डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार, डाइभर्सन निर्माण र सडक मर्मतका काम तीव्र गतिमा भइरहेका छन्। ‘डाइभर्सन निर्माण अन्तिम चरणमा पुगेको छ, आज साँझसम्म यातायातका साधन सञ्चालन हुने अपेक्षा गरिएको छ,’ उहाँले भन्नुभयाे ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ स्वयं निर्माणस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गर्दै आवश्यक निर्देशन दिनुभएकाे थियाे। मन्त्रीको निर्देशनपछि सडक विभागका इञ्जिनियर तथा प्राविधिक टोलीहरू रातभर फिल्डमै खटिएर काममा जुटेका थिए।
रोशी खोलाको बाढीले बिपी राजमार्गको काभ्रे खण्डमा १४ स्थान र सिन्धुली खण्डमा दुई स्थानमा सडक बगाएको थियो। ती सबै स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा पुनः सञ्चालनको तयारी गरिएको सडक विभागले जनाएको छ।
काठमाडौँलाई पूर्वका जिल्लासँग जोड्ने मुख्य यातायात सञ्जालका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध हुँदा काभ्रे, रामेछाप र सिन्धुली हुँदै पूर्व जाने सवारी साधनहरू बाध्य भएर अरनिको राजमार्ग हुँदै दोलखा घुमेर गइरहेका छन्।
डाइभर्सन निर्माण सम्पन्न भएपछि बिपी राजमार्ग पुनः सञ्चालनमा आएर यात्रु र मालवाहक सवारीको आवागमन सहज हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस्