काठमाडाैं असोज २५ । बाढीले सडक बगाएपछि एक हप्तासम्म अवरुद्ध बनेको बिपी राजमार्गमा अस्थायी डाइभर्सन बनाएपछि यातायात सञ्चालनमा आएसँगै चहलपहल बढेको छ।
रोशी खोलामा आएको बाढीले सडकको विभिन्न भाग बगाएपछि रोकिएको सो राजमार्गमा शुक्रबार साँझदेखि पुनः सवारी चल्न थालेको हो। गत असोज १७ गते रातिदेखि तीन दिनसम्म लगातार परेको वर्षाले बिपी राजमार्गका विभिन्न स्थानमा ठुलो क्षति पुर्याएको थियो।
काभ्रे खण्डको चौकिडाँडादेवी–माम्ति सडकसम्म १४ भन्दा बढी ठाउँमा सडक बगाएको थियो । त्यस्तै, सिन्धुली खण्डमा नेपालथोकदेखि वर्षेखोलासम्म दुई ठाउँमा सडक कटान भएको थियो। रोशी खोला क्षेत्रको करिब ५ किलोमिटर सडक बाढीले बगाउँदा असोज १७ गते साँझदेखि यातायात पूर्णरूपमा ठप्प भएको थियो।
सडक डिभिजन कार्यालय भक्तपुर, खाल्टे (सिन्धुली), सडक विभागका प्राविधिक टोली तथा निर्माण व्यवसायीको निरन्तर एक हप्ताको प्रयासपछि क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन तयार गरिएको छ। सो सडक निर्माणको जिम्मा पाएका कम्पनी र डक डिभिजन कार्यालयका उपकरण र जनशक्तिले निरन्तर काम गरेपछि शुक्रबार साँझदेखि सवारीसाधन सञ्चालनमा आएको जनाइएको हो।

बिपी राजमार्ग काठमाडौं उपत्यका पूर्वका जिल्ला काभ्रे, सिन्धुली, रामेछाप, कोशी र मधेस प्रदेशका केही भाग) बिचको मुख्य यातायात मेरुदण्ड हो। राजमार्ग अवरुद्ध हुँदा दशैँ सकाएर काठमाडौं फर्कने यात्रुले ठुलो सास्ती बेहोर्नुपरेको थियो।
सडक बन्द हुँदा काठमाडौंबाट पूर्वतर्फ जाने र पूर्वबाट फर्कने यात्रुले वैकल्पिक मार्गको रूपमा सिन्धुलीको खुर्कोट–रामेछाप–दोलखा हुँदै अरनिको राजमार्गतर्फ वा पूर्व-पश्चिम राजमार्गकाे हेटौँडा र नारायणघाट हुँदै मुग्लिनमार्ग प्रयोग गर्नुपरेको थियो।

अस्थायी डाइभर्सन बनेपछि राजमार्गमा फेरि सवारी चहलपहल बढेको छ। यसले काठमाडौं आवागमन गर्नेले राहत महसुस गरेका छन् ।
अस्थायी डाइभर्सन निर्माण भएपछि पनि सडक पूर्ण सुरक्षित नभएकोले सवारी सञ्चालन गर्दा सावधानी अपनाउन प्राविधिकले आग्रह गरेका छन्। अझै केही ठाउँमा बाटो बढाउनु पर्ने, पेल्नु पर्ने तथा ग्रेड मिलाउनु पर्ने भयकोले सावधानी अपनाउन उनीहरूको आग्रह छ । फेरी पानी परेमा पुनः सडकमा क्षति हुन सक्ने भएकाले सावधानी अपनाउन चालकहरूलाई आग्रह गरिएको छ।













प्रतिक्रिया दिनुहोस्