जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार १८:१४

रामेछाप नगरपालिकाले  गर्‍यो गत आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च


रामेछाप, असोज २६ । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ८३.०७ प्रतिशत मात्र खर्च गरेको छ । आइतबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

उहाँका अनुसार चालुतर्फ रु ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ र पूँजीगततर्फ रु १९ करोड ६९ लाख ५५ हजार ९ सय ६८ गरी कुल रु ६३ करोड ८७ लाख ६१ हजार ८ सय ४५ बजेटमध्ये ८३.०७ प्रतिशत मात्र खर्च भएको हो ।

वार्षिक समीक्षामा सामाजिक विकास, सुशासन तथा संस्थागत विकास र पूर्वाधार विकास शाखा अन्तर्गतका कार्यक्रमहरूको कार्यप्रगति र उपलब्धिको विस्तृत विवरण प्रस्तुत गरिएको थियो ।

कार्यप्रगति अपेक्षाअनुसार नहुनुको कारणबारे जानकारी दिँदै उहाँले योजना सम्झौता ढिलो हुने, ठेक्का प्रक्रिया समयमा सम्पन्न नहुने र ‘असार मसान्तमा मात्र काम सक्नुपर्ने’ मानसिकताका कारण लक्ष्यअनुसार प्रगति नदेखिएको बताउनुभयो ।

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख उहाँ चिना (खड्का) कार्की प्रमुख आतिथ्य रहनुभएको थियो ।