काठमाडौं, असोज २७ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङविरुद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले ठाउँ ठाउँमा उजुरी दिने क्रम जारी छ ।
सोही क्रममा सर्लाहीमा दुई संगठनले संयुक्त रूपमा प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खड्काको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी बुझाएको हो ।

यसै गरी राष्ट्रिय युवा संघ नेपाल नुवाकोट जिल्ला कमिटीले पनि सुधन गुरुङ र बालेन्द्र साह (बालेन) विरुद्ध जिल्ला प्रहरी कार्यलयमा नुवाकोटमा जाहेरी दिएको छ । ध्वंसात्मक घटनामा संलग्न भएका भन्दै उनीहरू विरुद्ध जाहेरी परेको हो ।

राष्ट्रिय युवा संघ नेपाल महोत्तरी र अनेरास्ववियु महोत्तरी जिल्लाले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा साह र गुरुङ विरुद्ध जाहेरी दर्खास्त दिएको छ । प्रहरी प्रमुखलाई ती संगठनले जाहेरी बुझाएका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल बाराले पनि जिल्ला प्रहरी कार्यालय बारामा सुधन गुरुङ र बालेन साहविरुद्ध जाहेरी दिएको छ । मोटरसाइकल र्याली सहित गएका राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताले प्रहरीमा जाहेरी बुझाएका हुन् ।
जेनजी आन्दोलनमा भएको क्षतिका जिम्मेवार भन्दै शाह र गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा पनि जाहेरी परेको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाँकेले उनीहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । त्यस अघि नेपालगञ्जमा मोटरसाइकल र्याली गरिएको थियो ।
उता तोडफोड र आगजनीमा संलग्नमाथि कडा कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु कास्कीले प्रमुख अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
यस अघि पनि राष्ट्रिय युवा संघ नेपाल र अनुरास्ववियुले विध्वंसकारीलाई कारबाही माग गर्दै विभिन्न जिल्लामा जाहेरी दिएका छन् । प्रहरीले जाहेरी भने दर्ता गरेको छैन । जाहेरीहरू पेण्डिङमा छन् ।













प्रतिक्रिया दिनुहोस्