काठमाडौं, कात्तिक ४ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आगामी निर्वाचनको तयारीबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रलगायत १० वटा राजनीतिक दलका नेताहरू सहभागी हुनुभएको छ । निर्वाचन तयारीसम्बन्धी छलफलमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगै निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दलका प्रतिनिधिहरू पनि सहभागी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी हुनुभएको छ ।

त्यस्तै, केदारभक्त माथेमा र विद्याधर मल्लिक बैठकमा पर्यवेक्षकका रूपमा उपस्थित हुनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा जारी छलफलमा आगामी निर्वाचनको तयारीको अवस्था, निर्वाचन आयोगसँगको समन्वय र सुरक्षा व्यवस्थाबारे विस्तृत समीक्षा भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्