- रुषा थापा
सर्वसाधारण जनताले खेतबारी, घर, पुर्ख्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको वा विदेशमा रगत पसिना बगाएर कमाएको पैसा ६–७ वर्षअघि आँखा चिम्लेर सहकारीमा राखे । एकै जनाले एक लाखदेखि १२ करोडसम्म पैसा सहकारीमा जम्मा गरी राखे । सहकारीले १४ देखि २२ प्रतिशतसम्म डिपोजिटको ब्याज दिन्छु भनि बचतकर्तालाई लोभ्याएको थियो ।
बैङ्क, वित्तीय संस्थाले पनि ११ देखि १६ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाए । सहकारीको नौटङ्की धेरै नै हुन्थ्यो । वर्षमा एकचोटि बचतकर्ताहरूलाई पिकनिक लैजान्थ्यो भने बर्थडेमा विभिन्न गिफ्ट । बूढाबूढीलाई दोसल्ला ओढाएर सम्मान गरिन्थ्यो । पैसा तान्न सहकारीले अनेकौँ प्रपञ्च गर्ने गर्थ्यो । सहकारी कर्मचारी, अध्यक्ष, सञ्चालकहरू चाहिँ कोट, पेन्ट लगाउँथे ।
कोही दुई पाङ्ग्रे त कोही चार पाङ्ग्रे गाडी चढ्थे । हरेकले दुईवटा मोबाइल फोन बोक्ने । त्यो पनि स्मार्टफोन वा आईफोन, घाँटीमा सुनको मोटो सिक्री, हातमा सुनकै बाला । अनि सञ्चालक, अध्यक्ष, कर्मचारीहरू धनी देखेपछि आफ्नो रकम नडुब्ने आशामा मानिसहरूले सहकारीमा पैसा राखे । सहकारी बजार प्रतिनिधिहरू बिहान १० बजेदेखि ५ बजेसम्म खट्थे ।
उनीहरूको तलब पद वा अनुभवअनुसार दश हजारदेखि ५० हजारसम्म हुन्थ्यो । सहकारी अध्यक्ष, सञ्चालकचाहिँ दिउँसो एक बजे कार्यालय आउँथे अनि केही घण्टा काम गरेर घर जान्थे । उनीहरूको तलबचाहिँ लाखौँ हुन्थ्यो । सहकारी होस् या बैङ्क, अन्य वित्तीय संस्थाको कार्यालयमा बचतकर्ता, ऋणी जाँदा जाडोमा गर्मी र गर्मीमा जाडो हुन्थ्यो । किनकि त्यहाँ महँगो एसी राखिएको हुन्थ्यो । अनि बचतकर्ता र ऋणीलाई लोभ्याउन चिसो र तातो खुवाउने । उनीहरूसँग मिठो बोली बचन गरिन्थ्यो, हाँसी–हाँसी फसाइन्थ्यो । बैङ्क, सहकारी वा अन्य वित्तीय संस्थाले दुई करोडको धितो राखेर एक करोड कर्जा दिन्थे । त्यसमा दश लाख त घुसै ।
सेवा शुल्क दुई प्रतिशत, ब्याज १६ देखि १८ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । अनि तीन किस्ता नतिर्ने बित्तिकै दुई करोडको धितो ९० लाखमै पचाइदिने । यो कुरा केबल बैङ्क, सहकारी, वित्तीय संस्थाबाट पीडित भएकाहरूलाई थाहा थियो । यिनीहरूको बाहिर रूप एउटा र भित्री अर्कै भएको धेरै सर्वसाधारणलाई थाहा थिएन । जसका कारण ऋणीसँगै बचतकर्ता पनि डुब्नुपर्यो । बैङ्क, सहकारी, वित्तीय संस्थाहरूको विशेषतः कर्जा लगानी घरजग्गा, गाडी, सेयरमा पाइन्छ । यी वस्तु विलासिताका हुन् । दलालीहरूले कृत्रिम रूपमा यसको मूल्य बढाएका हुन् । यद्यपि, अरूलाई ठग्ने बैङ्क, वित्तीय संस्थाहरूले आफू खाल्टोमा परेको कुरा चाहिँ बुझेनन् । त्यसैको परिमाणमा पहिलो चरणमा सहकारी डुबेको हो । मै हुँ भन्ने सहकारीहरू घरजग्गा, गाडी र सेयरमा लगानी गरेकै कारण एकाएक भाग्नुपर्यो, डुब्नुपर्यो ।
हिजो कोट, पेन्ट लगाएर चिल्लो गाडीमा चढ्ने सहकारी सञ्चालक, अध्यक्ष, कर्मचारीहरू आज मास्क लगाएर अनुहार छोपेर लुकी लुकी हिँडिरहेका छन् । कतिपय त देशै छोडेर भागिसके । अब पालो बैङ्कको हो ।
जग्गा पाँच दशकअघि दश हजार रोपनीमा बिक्री हुँदैनथ्यो । एक रोपनीमा १६ आना हुन्छ । दलालीहरूले खेतको पाटोमा डोजर चलाएर टुक्रा टुक्रा पारे । अनि त्यही टुक्रालाई आना नाम दिएर आनाकै २५ लाखदेखि करोडौँमा बेचे । गाडी सिसा, फलाम, प्लास्टिक, रबरलगायतबाट बन्छ । यी वस्तुको कवाडीले दुई रुपैयाँ किलो दिन्छ । छिमेक भारत र चीनले कवाडीले दुई रुपैयाँ किलोमा नलैजाने सामानबाट गाडी बनाए । अनि हामीलाई लाखौँमा बेचे । त्यही गाडी फेरि अटो सो-रुमहरूले सर्वसाधारणलाई सयौँ गुणा बढी मूल्य अर्थात् एक लाखको गाडी २० देखि ५० लाखसम्ममा बेचे ।
यस्तै, सेयर बैङ्क, वित्तीय संस्था, जलविद्युत कम्पनीहरूले एक सय रुपैयाँ प्रतिकित्तामा निष्कासन गरेका हुन् । सेयरमा पनि सीमित व्यक्तिहरूको चलखेल छ । उनीहरूले मूल्य बढाउने र घटाउने गर्छन् । अनि फस्छन् चाहिँ सोझासाझा जनता ।
३२ सय पुर्याइएको सेयर अहिले २४ सयमा झरिसक्यो । अब एक हजारमा झार्ने बजारमा चर्चा छ । अहिले बल्ल आएर मानिसहरूले बुझेका छन् कि घरजग्गा, गाडी र सेयर विलासिताका वस्तु हुन् । यसमा लगानी गर्नुहुन्न । तर, डुबेपछि थाहा पाएर के गर्नु ? घरजग्गा, गाडी र सेयरमा मन्दी आउनासाथ सहकारी भाग्यो, दलालीहरूको पनि भागाभाग चलेको छ । बैङ्कसमेत संकटमा परेको अवस्था छ ।
यस्तै, देशभर दर्ता भएकामध्ये ९५ प्रतिशत सहकारी भागे वा डुबे । सञ्चालनमा रहेकाले समेत बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेका छैनन् । बचतकर्ताहरू दशैँ, तिहारमा निक्षेप फिर्ता माग्दै सहकारी पुगे । तर, रित्तो हात फर्किए । उल्टै सहकारी अध्यक्ष, सञ्चालकहरुले बचतकर्तालाई ठग्न खोजे । निक्षेपको साटो घरजग्गा, गाडी र सेयर लैजानु भने । तर, मूल्य सुन्दा आश्चर्य चकित । एक लाख आना नपर्ने दुर्गम जिल्लाको जग्गालाई २५ लाखदेखि ५० लाख भन्ने । थोत्रा चार पाङ्ग्रे गाडीको ५० लाख अनि सेयर प्रतिकित्ता तीन हजार भन्ने । फेरि यो नलिएर सिधै बचत फिर्ता गर्न सक्दैनौँ भन्ने । हिजो पैसा चाहिँ हाँसी–हाँसी लैजाने, जहिल्यै माग्नुहुन्छ, उतिबेलै दिन्छौं भन्ने । अनि अहिलेचाहिँ यस्तो गर्न पाइन्छ । अझै पनि सहकारीहरूलाई सर्वसाधारण ठगेर नपुगेको यसबाटै थाहा हुन्छ । हुन त सहकारीलाई जनता ठग्न सरकारले नै लाइसेन्स दिएको हो ।
टोल टोलमा सहकारी, घरघरमा धान भकारी भन्दै सहकारीमा पैसा राख्न लगाइयो । अहिले डुबेपछि चाहिँ सरकारले पनि बचतकर्तासँग मुख फेरेको छ । न निक्षेप फिर्ता दिलाउन पहल गर्छ न ठग सहकारी अध्यक्ष, सञ्चालकलाई कारबाही गर्छ । यतिसम्म कि पीडित बचतकर्ताले सहकारी विरुद्ध उजुरीसमेत दिन पाएका छैनन् । कानुनअनुसार सहकारीको दश प्रतिशत सदस्यले उजुरी दिएमा मात्र सम्बन्धित निकायले उजुरी लिन्छ । अनि बचतकर्ताहरूले एक अर्कालाई चिन्दैनन् । अनि कसरी एकसाथ उजुरी दिने । प्रमाण पेश गरेपछि त उजुरी दिन पाउनुपर्ने हो नि । यहाँ त सरकारले नै बचतकर्तालाई पीडा दिने काम गरिरहेको छ ।
सरकार भन्छ–कसैले ठगेमा उजुरी दिनु ।’ कानुन चाहिँ ठगहरूको हितमा बनाउने अनि पीडितले कसरी उजुरी दिने ? आखिर जुनसुकै सरकार आए तापनि न बचतकर्ताको पैसा फिर्ता आउने देखिन्छ न सहकारी ठगहरूमाथि कारबाही ।













प्रतिक्रिया दिनुहोस्