जनता टाइम्स

१० कार्तिक २०८२, सोमबार १२:४८

किष्ट शिक्षण अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, तोडफोड र ढुंगामुढा


काठमाडौं, कात्तिक १०। ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था आइतबार दिउँसोदेखि तनावग्रस्त बनेको छ । उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले अस्पताल परिसरमा तोडफोड तथा ढुंगामुढा गरेका हुन् ।

घटनामा केही व्यक्ति घाइते समेत भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले अस्पताल वरिपरि घेराबन्दी गर्दै थप विवाद फैलिन नदिन सतर्कता अपनाएको छ ।

अस्पतामा सुत्केरी हुन आएकी मीना राईको गत शुक्रबार सुत्केरी गराउने क्रममा मृत्यु भएको थियाे । उहाँको मृत्युमा अस्पतालको लापरबाही रहेको भन्दै आफन्तहरूले आज पुनः प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘अस्पताल बन्द गर’, ‘मीनालाई न्याय दे’ जस्ता नारासहित विरोध जनाएका छन् ।

अस्पतालभित्र र बाहिर दुवैतर्फ ठूलो संख्यामा मृतकका आफन्त, नातेदार र स्थानीय सर्वसाधारण भेला भएका थिए । प्रहरीले भिड नियन्त्रण गर्न कठिनाइ व्यहोर्नु परेको बताइएको छ ।

अस्पताल प्रशासनले भने घटना विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन । अस्पतालले आवश्यक प्रक्रिया पूरा गरी अनुसन्धानका लागि प्रहरीलाई सहयोग गरिरहेको जनाएको छ ।

मृतकको परिवारका सदस्यहरूले स्वास्थ्यकर्मीको निष्कासन र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन प्रयास जारी राखेको छ ।