दाङ, कात्तिक ११। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालस्थित बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको प्रभावकारी कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको छ । साे क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले संघीयतालाई सुदृढ बनाउन र नागरिकको जीवनस्तर उकास्न प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभयो।
उहाँले नेपाल–बेलायत सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा देखिएका प्रत्यक्ष तथा अप्रत्यक्ष जटिलताले प्रशासनिक र भौतिक संरचनामा असर पारेको बताउनुभयो।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि सारेका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र बेलायती सरकारबाट सहयोग प्राप्त कार्यक्रमहरूलाई स्थायित्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार संघीयतालाई बलियो बनाउने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र सुशासन प्रवर्द्धनका क्षेत्रमा आपसी सहकार्य गर्न सकिने अपेक्षा गरिएको छ।

उहाँले प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख रहेको जानकारी दिंदै चालू आर्थिक वर्षका लागि विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्नुपर्ने अवस्था आएको बताउनुभयो। तर जनजीवनसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रमहरूमा कटौती नगर्ने नीति अपनाइएको उहाँले जानकारी दिनुभयाे ।
मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले ५ वर्षे रणनीतिक योजना तयार पारेको जानकारी दिनुभयो। उहाँका अनुसार ५ लाख रुपैयाँभन्दा माथिका योजना खुला प्रतिस्पर्धामार्फत कार्यान्वयन गरेर पारदर्शिता अभ्यास गरिएको छ। आगामी ५ वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो।
युवाहरूको आवाज सुन्न र तिनका मुद्दा सम्बोधन गर्न प्रमुख सचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिँदै उहाँले सो समितिले प्रतिवेदनमार्फत सुझाव पेस गर्ने र त्यसका आधारमा प्रदेश सरकारले नीतिगत तथा व्यावहारिक कार्य अघि बढाउने बताउनुभयो।
भेटका क्रममा बेलायती दूतावासका अधिकारी एन्ड्रु लङले नेपाल र बेलायतबीचको सम्बन्ध अझ सुदृढ बनाउने र दुबै सरकार मिलेर सुशासन, विकास र संघीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा दोस्रो आवधिक योजनाको कार्यान्वयनमा बेलायती सहयोग निरन्तर रहने बताउनुभयो।
भेटमा प्रदेश सरकारका सचिव कविन्द्र नेपाललगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्