जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार २०:०६

चुनाव र सुशासनका मुद्दा एकैसाथ अघि बढाउनु पर्ने जेनजीकाे माग, एक पटकको छलफलले मात्र नपुग्ने प्रधानमन्त्रीकाे भनाइ 


काठमाडौं, कात्तिक १२। सरकार, मुख्य राजनीतिक दलका प्रतिनिधि र जेनजी प्रतिनिधिहरूबिच बुधबार वार्ता भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गर्नु भएको छलफलमा जेनजी प्रतिनिधिहरूले तोकिएको मितिमा चुनाव हुनु पर्ने बताउँदै आन्दोलनको मुख्य एजेन्डा नै सुशासन भएको तर्फ राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराएका छन्।

जेनजी प्रतिनिधिले चुनावका कुरा मात्र गरेर नहुने बताउँदै आन्दोलनको मुख्य माग सुशासन भएको बताए । भ्रष्टाचारविरुद्धको कारबाही निर्वाचन दुवै एजेण्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्ने उनीहरूले माग राखे ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँगको वार्तामा एक पटकको छलफलले मात्रै नपुग्ने बताउँदै सबैलाई आफ्ना विचार  राख्न आग्रह गर्नुभयो । उहाँले  देश नेपालीले नै बनाउने र देश बनाउनका लागि एक पटकको कुराकानीले मात्रै नपुग्ने बताउनुभयो ।

अहिले संवादको सुरुवात भएको उल्लेख गर्दै उहाँले यस्ता छलफलहरू बारम्बार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले छलफलको सुरुवात भएको बताउँदै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।