ओखलढुंगा, कात्तिक १९ । जेनजी आन्दोलनपछि पार्टी पुनर्जागरण र सुदृढीकरण अभियानअन्तर्गत नेकपा (एमाले) ओखलढुंगाले बृहत कार्यकर्ता भेला गरेको छ ।
भेलालाई पार्टीका उप–महासचिव पृथ्वीसुब्बा गुरुङ, कोशी प्रदेश इन्चार्ज शेरधन राई, जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी) लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
भेलामा वक्ताहरूले जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिस्थिति, देशमा देखा परेका चुनौतीहरू र पार्टीको आगामी कार्यदिशाबारे धारणा व्यक्त गर्नुभएको थियो । उहाँहरूले पार्टीलाई जनस्तरमा अझ सुदृढ बनाउँदै नयाँ ढाँचाको नेतृत्वसहित पुनः संगठनात्मक गतिशीलता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उप–महासचिव गुरुङले एमालेले देशको स्थायित्व, विकास र राष्ट्रिय स्वाभिमानका पक्षमा निरन्तर लड्दै आएको बताउँदै, अहिलेको राजनीतिक चुनौतीहरूबीच पनि पार्टी एकताबद्ध भएर जनताको भरोसा जित्ने अभियानमा लागेको बताउनुभयो ।

कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी दिनमा पार्टीले संगठन सुदृढीकरण र विचार–संगठन–व्यवहारको एकतालाई बलियो बनाउँदै जनताको बीचमा पुग्ने कार्ययोजना अघि बढाउने जानकारी दिनुभयो ।
भेलाबाट पार्टीलाई थप एकतावद्ध बनाउने, नयाँ परिवर्तित राजनीतिक सन्दर्भअनुसार ठोस रणनीति तय गर्ने र जनताको पक्षमा प्रत्यक्ष रूपमा काम गर्ने निष्कर्ष निकालिएको पार्टी प्रचार विभाग प्रमुख राजिव कटवालले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी, पालिका कमिटीका पदाधिकारी, माथिल्लो कमिटीका नेता तथा विभिन्न जनसंगठनका नेता कार्यकर्ता उपस्थित रहनुभएको थियो । भेला उत्साहजनक सहभागितासहित सम्पन्न भएको पार्टीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्