रामेछाप, कात्तिक २५ । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अनुसार रामेछाप जिल्लाका स्थानीय तहमा आज विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् ।
पार्टीका ८ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा आज पार्टी र जनपरिचालनका कार्यक्रम सम्पन्न भएका छन् भने रामेछाप नगरपालिकामा कात्तिक २८ गते र मन्थलीमा कात्तिक २९ गते कार्यक्रम हुने भएको छ ।

प्रतिगमन विरुद्धको जनपरिचालन कार्यक्रम अन्तर्गत सुनापाति गाउँपालिकाको केन्द्र साँदीडाँडा र खाँडादेवीको माकादुममा र्याली तथा कोण सभा भएका छन् । कार्यक्रममा पार्टीका केन्द्रदेखि जिल्ला र पालिका तथा वडा तहसम्मका नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
सुनापति गाउँपालिकाको कार्यक्रमलाई एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईँ लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चौलागाईँले भदौ २३ र २४ घटना विदेशीहरूको सुनियोजित षडयन्त्र अनुसार भएको बाउनुभयो । एमाले र केपी ओलीलाई असफल गराउन सो जाल रचिएको उहाँको भनाइ छ ।

यसैगरी खाँडादेवी गाउँपालिकामा भएको कार्यक्रमलाई नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङ, जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्की लगायतले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै उमाकुण्ड गाउँपालिकामा भने पार्टी पालिका कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी प्रदेश कमिटी सदस्य शेरबहादुर सुनुवार, गङ्गादेवी कार्की लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

यसैगरी गोकुलगंगा गाउँपालिका कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य गीता कार्की, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया लगायतका नेताहरूको सहभागिता थियो ।

जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पनि पूर्ण बैठक गरेको छ । बैठकमा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, जिल्ला उपाध्यक्ष होतराज ढकाल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
बैठक र भेलाहरूले कात्तिक २९ गते जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने जिल्ला स्तरको जनप्रदर्शन कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने योजना बनाएका छन् । यसका साथै स्थानीय स्तरमा पार्टी र जनपरिचालनका विषयमा पनि छलफल गरी आवश्यक योजना बनाइएको पार्टीका जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्