काठमाडौँ, कात्तिक २८ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेका घटनापछि मुलुक असाधारण राजनीतिक अन्यौलतामा परेको बताउँदै लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व र राष्ट्रिय एकताका लागि अभूतपूर्व एकताको आवश्यकता रहेको बताउनुभएकाे छ। उहाँले नयाँ पुस्ता (जेन-जी) ले उठाएको प्रश्न, असन्तुष्टि र मनोविज्ञानलाई गम्भीर रूपमा ग्रहण नगरेसम्म मुलुक राजनीतिक अनिश्चितताबाट मुक्त नहुने टिप्पणी गर्नुभएको छ।
वक्तव्यमार्फत पोखरेलले संविधानमाथि अतिक्रमण गर्ने प्रयास भएको र असंवैधानिक कदमका आधारमा मुलुकलाई अघि बढाउने प्रयत्न भइरहेको बताउनुभएकाे छ। राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारमाथिको जोखिम अझै गम्भीर रहेको उल्लेख गर्दै उहाँले जनताको भावना, आक्रोश र मागलाई बेवास्ता गरेर अघि बढ्न नमिल्ने स्पष्ट पार्नुभएको छ।
भदौ २४ गते भएको विध्वंसलाई कुनै पनि बहानामा नजरअन्दाज गर्न नसकिन बताउँदै उहाँले त्यसमा संलग्नलाई उन्मुक्ति दिनु राष्ट्रिय आत्मविश्वास पुनःस्थापनाको मार्ग नबन्ने उहाँकाे धारणा छ। मुलुकलाई अप्ठ्यारो र अनिश्चितताबाट बाहिर निकाल्न राजनीतिक दल, नयाँ पुस्ता, नागरिक समाज र राज्यका निकायबीच गहिरो विश्वास तथा समझदारी अनिवार्य भएको उहाँको धारणा छ।
आफ्नाे दीर्घ राजनीतिक यात्राका प्रसङ्ग स्मरण गर्दै पोखरेलले नेकपा (एमाले)ले हरेक राष्ट्रिय सङ्कटमा जिम्मेवार भूमिका निर्वाह गर्दै आएको बताउनुभएकाे छ। स्कूले विद्यार्थी जीवनदेखि भूमिगत राजनीतिक यात्रा, जेल जीवन, पञ्चायती शासन, खुला राजनीतिका भूमिकादेखि दोहोरो महासचिव र हाल वरिष्ठ उपाध्यक्षका रूपमा आफू राष्ट्र, जनता र पार्टीकै हितमा समर्पित रहँदै आएको उहाँले उल्लेख गर्नुभएकाे छ। कठिन परिस्थितिमा फेरि एकपटक राष्ट्रिय एकताका लागि सबैलाई आह्वान गर्दै उहाँले दल, युवापुस्ता र जनसामान्यबीच सहकार्य आवश्यक रहेको बताउनुभएकाे छ ।
मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको एघारौँ महाधिवेशनप्रति सबैको ध्यान आकर्षित भएको उल्लेख गर्दै उहाँले भदौ २३–२४ पछि राजनीतिक परिस्थितिमा आमूल परिवर्तन आएको कारण विधान महाधिवेशनले पारित गरेका कतिपय निष्कर्ष अद्यावधिक गर्नुपर्ने आवश्यकता बढेको बताउनुभएकाे छ। राजनीतिक, सांगठनिक र विधानसम्बन्धी विषयमा नयाँ बहस र निष्कर्ष निकाल्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका निर्णायक रहने उहाँको भनाइ छ। मंसिर १३ गते प्रतिनिधि छनोट एकैदिन हुने बताउँदै उहाँले सम्पूर्ण पार्टी सदस्यलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गर्नुभएको छ।
असंवैधानिक रूपमा गरिएको संसद् विघटनको खारेजी, संविधानको रक्षा तथा तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन जनदबाब आवश्यक रहेको उल्लेख गर्दै उहाँले एमालेले देशभर सञ्चालन गरिरहेको जनपरिचालन अभियानलाई सफल बनाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ। उहाँले कात्तिक २९ गते प्रत्येक जिल्लामा र मंसिर ६ गते काठमाडौंमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी पङ्क्ति तथा आम नागरिकलाई अपिल गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्