जनता टाइम्स

२ मंसिर २०८२, मंगलवार ००:०२

पूर्वराष्ट्रपति भण्डारीसँग  सञ्चारमन्त्री खरेलकाे भेट : सबै दललाई चुनावमा आउने वातावरण बनाउन सुझाव 


काठमाडौं, मंसिर १ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज बालुवाटारस्थित निवासमा भेटवार्ता भएको छ।

भेटमा देशको समसामयिक राजनीतिक परिस्थिति, आगामी निर्वाचन र सरकारले प्राथमिकताका रूपमा अघि बढाइरहेका कामबारे विस्तृत चर्चा–विमर्श भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा मन्त्री खरेलले सरकारले गरिरहेका कार्ययोजना, सरकारको वर्तमान प्राथमिकता तथा आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीबारे पूर्वराष्ट्रपतिलाई अवगत गराउनुभयो। उहाँका अनुसार सरकारले निर्वाचनको अनुकूल माहोल बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइरहेको छ।

मन्त्री खरेलले सबै राजनीतिक दलहरू आगामी निर्वाचनप्रति सकारात्मक देखिएको उल्लेख गर्दै केही दलले शान्ति–सुरक्षाको चिन्ता व्यक्त गरेअनुसार सरकारले सुरक्षा व्यवस्थालगायत सबै पूर्वाधार तयारीमा लागिपरेको जानकारी पूर्वराष्ट्रपतिलाई गराउनुभयो। उहाँका अनुसार जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नवप्रवर्तनसम्बन्धी कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।

भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारीले आगामी निर्वाचन नै वर्तमान परिस्थिति समाधानको उपयुक्त विकल्प भएको बताउनुभयो। उहाँले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै भन्नुभयो,
“निर्वाचन नै अहिलेको निकासको सही बाटो हो, यसका लागि सरकारले सोहीअनुसारको माहोल बनाउनुपर्छ र सबै दलहरूलाई सहभागी गराउनुपर्छ।”

सरकारले आगामी फागुन २१ को निर्वाचनलाई सफल बनाउन विभिन्न पक्षसँग निरन्तर संवाद र समन्वयलाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ।