जनता टाइम्स

३ मंसिर २०८२, बुधबार १४:२०

शंकर र महेशलाई रोक्न भएको सिमरा घटनाले बिश्वप्रकाश आक्रोशित : प्रधानमन्त्रीलाई भने-भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?


काठमाडौं, मंसीर ३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटना जेनजी आन्दोलनको भावनाविपरीत रहेको भन्दै कडा आक्रोश पोख्नुभएको छ ।

एमाले महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई निर्धारित कार्यक्रममा जान नदिनका लागि अवरोध गरी बिमान नै अवतरण हुन नदिएको घटनाप्रति शर्मालेकडा आक्रोश जनाउनु भएको हो । बुधबार एक्समार्फत आफ्नो टिप्पणी सार्वजनिक गर्दै महामन्त्री शर्माले सिमरा घटनाले निकै गम्भीर तुल्याएको भन्दै यसरी निर्वाचनको वातावरण नबन्ने निश्कर्ष सुनाउनु भएको छ ।

‘सिमरा घटना दुःखद ! प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण,’ महामन्त्री शर्माले प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेख्नुभएको छ, ‘एकफेरा भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?’
सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन नसक्ने पनि शर्माले टिप्पणी गर्नुभएको छ ।

‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौं,’ शर्माले भन्नुभएको छ । सिमरा भर्खरै गठन भएको प्रचण्ड नेतृत्वको नेपाली कम्यनिष्ट पार्टी, मधेशवादी दलका कार्यकर्ता सहभागी भएको तथ्य उजागर भइसकेको छ ।

बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा सहभागी हुन हवाई मार्गमार्फत सिमरा विमानस्थल जाँदै हुनुहुन्थ्यो । उहाँहरूलाई रोक्न जेनजीको नाममा सिमरा विमानस्थलमा नाराबाजी भएको थियो । जसको प्रतिरोधमा एमाले कार्यकर्ता उत्रिँदा तनावको स्थिति बनेको थियो ।

अवस्था असामान्य बन्नेपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा अहिले कफ्र्यु लगाएको छ । अवरोध गरेर रोकेपनि कार्यक्रम सुरु भइसकेको छ । एमालेमा प्रवेश गर्न लागेका आफ्ना कार्यकर्तालाई रोक्न नसकेपछि ती दलहरुले महासचिव शंकर र युवा नेता महेशलाई रोकेर कार्यक्रम बिथोल्न खोजेको पाइएको छ ।