काठमाडौं, मंसिर ५ । नेकपा एमालेले आज घोषणा गरेकाे नेसलन भोलेन्टियर फोर्सका संयोजकमा पुष्पराज श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू कटिबद्ध रहेको बताउनुभएकाे छ ।
आज आयाेजित कार्यक्रममा बाेल्दै उहाँले पार्टीले गरेकाे आशा र भराेसालाई आफूले मर्न नदिने उहाँले बताउनुभयाे । ‘पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन, हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर जहाँबाट लड्न भिड्न पनि तयार छौँ’, उहाँले भन्नुभयाे ।
श्रेष्ठले अब सरकार र जेनजीकाे नाममा हुने ज्याजति नसहने बताउनुभयाे । ‘यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिनु भएन भने हामीले तपाईंहरू जस्तो विरोध र अवराेध गर्नुहुन्छ त्यसको प्रतिकार गर्छौँ’, उहाँले भन्नुभयाे ।
नेताहरुकाे घरमा आगाे लगाउनेहरुकाे लाेकेसन आफूहरुले पनि ट्रयाक गरेकाे श्रेष्ठले दाबी गर्नुभयाे । ‘जसरी लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौँ, हामी पनि तपाईंहरूको घर घर घेर्नेछौँ,’ उहाँले भन्नुभयो ।
ठाउँ ठाउँमा राजनीतक दलका कार्यक्रम र नेताहरू गएका ठाउँमा रोक्ने काम गरिएकाे बताउँदै उहाँले अब साे कार्य नसहने बताउनुभयाे । ‘भर्खर सिमरा एयरपोर्टमा पाँच/दश जना जेनजीको नामबाट झुण्ड परिचालित गरिएकाे थियो, त्यस्ता झुण्डले यसैगरी डिस्टर्ब गर्न आए भने हामीले पनि घर घरमा आएर तह लगाउने छाैँ’, उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्