जनता टाइम्स

८ मंसिर २०८२, सोमबार १२:४३

अराजकतावादलाई प्रश्रय दिने काम सरकारबाटै भएको छ : प्रदीप ज्ञवाली 


काठमाडौं, मंसिर ८ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताउनुभएको छ ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताउनुभयो।अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उहाँले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताउनुभयो । ती सबै खालका शक्तिलाई परास्त गर्नु आजको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो ।

यसलाई रोक्न जनपरिचालनबाट मात्र सम्भव हुने बताउँदै उहाँले नेपालको राजनीतिक इतिहासमा जनपरिचालनको क्षेत्रमा एमाले अग्रणी शक्ति भएको दाबी गर्नुभयो । प्रत्येक महाधिवेशनदेखि प्रतिगमनविरुद्धको सङ्घर्षसम्म एमालेको जनपरिचालन निर्णायक रूपमा प्रभावशाली रहँदै आएको ज्ञवालीको भनाइ छ ।

बैठकमा एमाले वाग्मती प्रदेश इञ्चार्ज तथा जनपरिचालनका सचिव राजन भट्टराईले यस पटकको एमालेको ११औँ महाधिवेशनमा ऐतिहासिक रूपमा सबैभन्दा ठुलो जनपरिचालन हुने दाबी गर्नुभयो । यसको लागि आवश्यक तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।