काठमाडौं, मंसिर ८ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रचार सम्बन्धी कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेको छ । एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सोमबार बसेको महाधिवेशन प्रचार समितिको बैठकले कार्यदल गठन गरेको हो ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख एवं महाधिवेशन प्रचार समितिका सचिव राजेन्द्र गौतमको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीका पूर्व र वर्तमान नेतृत्व सहभागी रहेको कार्यदल गठन गरेको हो । कार्यदलमा बैठकले सुझाव सङ्कलनसहित महाधिवेशनको प्रचार सम्बन्धी ठोस कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलमा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत, अध्यक्ष गणेश पाण्डे, निवर्तमान वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य, उपाध्यक्ष चेतन अधिकारी र महासचिव हिरामान लामा रहनुभएको छ । कार्यदललाई बैठकमा आएका सुझाव र सञ्चार क्षेत्रका विज्ञहरूसँग समेत परामर्श महाधिवेशनको प्रचारका लागि ठोस कार्ययोजना निर्माण गर्ने जिम्मेवारी तोकिएको छ ।

सोमवारको बैठकमा सञ्चार क्षेत्रका अगुवाहरू उजिर मगर, माधव नेपाल, चेतन अधिकारी, हिरामान लामा, डिल्ली बसी, हरिबल्लभ नेपाल, सुरोजंग पाण्डे, प्रकाश सिलवाल, शेखर अधिकारी, रामेश्वर कार्की, लक्की चौधरी, ध्रुव सुवेदीलगायतले सुझाव राख्नुभएको थियो । सुझाव दिने क्रममा सबैजसो वक्ताहरूले मुलुकको परिवर्तित अवस्थामा अपनाउनु पर्ने रणनीतिलाई प्राथमिकतामा राख्न सुझाएका छन् ।
बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पार्टीविरुद्ध भइरहेको घेराबन्दी तोड्ने गरी प्रचार कार्ययोजना निर्माण हुनुपर्ने बताउनु भयो । नीति निर्माणको महाधिवेशन सम्पन्न भएर नेतृत्व चयनका लागि महाधिवेशन आयोजना गरिएको भए पनि भ्रम पार्न अनेक प्रकारका कोसिस भइरहेको भन्दै महासचिव नेपालले त्यसलाई चिर्दै प्रतिगमनलाई निर्णायक धक्का र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने गरी प्रचार योजना निर्माण र कार्यान्वयनमा जोड दिनुभयो ।
महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकोले मंसिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने तथ्यलाई बुझाउन जरुरी रहेको बताउनु भयो । उहाँले महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रियाहरू लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेर हुने जानकारी पनि दिनभयो ।
महासचिव पोखरेलले महाधिवेशनमा ४० वर्षमुनिका युवा र महिलाको प्रतिनिधित्व विगतको भन्दा वृद्धि हुने व्यवस्था मापदण्ड निर्धारणमै गरिएको भन्दै सो कामलाई पनि ढाकछोप गर्ने प्रयत्न भइरहेको तर्फ सचेतसमेत गराउनु भएको छ ।
यस्तै बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनर्निर्माण जस्ता मूल राजनीतिक सवाललाई एजेण्डामा केन्द्रित गर्ने बताउनु भयो । उपमहासचिव ज्ञवालीले युवा पुस्ता, विशेषतः जेनजीमैत्री संरचना निर्माणमा जोड दिन पनि सुझाउनु भयो ।
बैठकमा स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख रहनुभएका महाधिवेशन प्रचार समितिका सचिव गौतमले महाधिवेशनमा प्रचारको काममा कुनै कमी नहुने गरी आफूहरू अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।


















प्रतिक्रिया दिनुहोस्