रामेछाप, मंसिर १५ । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले आफ्नै स्रोत र पहलमा दुर्गम गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन दुईवटा अस्पताल सञ्चालन गर्दै आएको छ। अन्य स्थानीय तहलाई आधारभूत स्वास्थ्य चौकी पनि सुचारु गर्न धौधौ परिरहेकाे अवस्थामा उमाकुण्डले दुई–दुईवटा अस्पताल सञ्चालन गर्नु स्थानीय सरकारको क्षमता र नागरिक–मुखी प्रतिबद्धताको उदाहरण बनेको छ।

गाउँपालिकाको केन्द्र प्रीति र वडा नं २ बाम्तिमा सञ्चालनमा रहेका यी अस्पतालहरू स्थानीय नागरिकले सहजै सेवा पाउन सकून् भन्ने उद्देश्यले स्थापना गरिएका हुन्। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार बाम्तिको अस्पताल १५ शय्याको छ भने प्रीतिमा रहेको अस्पताल ५ शय्याको क्षमता भएको छ।
दुवै अस्पतालका लागि संघीय सरकारले स्वास्थ्य चौकी तहको दरबन्दी मात्र उपलब्ध गराएको छ। बाँकी सबै जनशक्ति, आवश्यक उपकरण र सेवा विस्तारका लागि लाग्ने खर्च गाउँपालिकाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्दै आएको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो।

भौगोलिक रूपमा अत्यन्त विकट मानिने उमाकुण्डको वडा नं १ गुम्देलका नागरिकलाई गाउँपालिकाको केन्द्र प्रीति आइपुग्न मात्रै चार घण्टा लाग्छ। जिल्ला सदरमुकाम मन्थली पुग्न दिनभरि यात्रा गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा सामान्य रोगको उपचारका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता कम गर्न गाउँपालिकाले गाउँमै अस्पताल सुविधा विस्तार गरेको हो।
गुम्देल, बाम्ति र कुभुकास्थलीलाई लक्षित गरी बाम्तिको अस्पताल सञ्चालन गरिएको छ भने प्रीतिका दुईवटा वडा, गुप्तेश्वर र भूजीका नागरिकका लागि प्रीति अस्पतालले सेवा उपलब्ध गराउँदै आएकाे छ। दुर्गम बस्तीमा बसोबास गर्ने स्थानीयका लागि यस्तो सेवा ‘जीवन रक्षा सुविधासरह’ बनेको अध्यक्ष सुनुवारको भनाइ छ।

गाउँपालिकाको सीमित स्रोतबाटै दुईवटा अस्पताल सञ्चालन गर्दा ठूलो वित्तीय भार पर्ने भए पनि नागरिक स्वास्थ्यलाई प्राथमिकता दिँदै सेवा निरन्तरता प्रदान गरिएको गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो। ‘असाध्यै खर्चिलो छ, डाक्टर राख्नै मुस्किल छ, तर नागरिकको स्वास्थ्यमा सम्झौता गर्ने विषय नै होइन, अरू धेरै योजनामा कटौती गरेर भए पनि अस्पताल सञ्चालन गरिरहेका छौँ,’ नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले भन्नुभयो।

स्थानीय सरकारले आफूले जिम्मेवारी बुझेमा र नागरिकप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिएमा कति प्रभावकारी काम गर्न सकिन्छ भन्ने उदाहरण उमाकुण्ड गाउँपालिकाले प्रस्तुत गरेको छ। गाउँमै आधारभूतदेखि आपत्कालीनसम्मका सेवा दिन सकिने अस्पताल सञ्चालन गरी उमाकुण्डले स्थानीय तहले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने काम कस्तो हुनुपर्छ भन्ने पाठ अन्य स्थानीय तहलाई पनि सिकाएकाे छ। यसबाट अन्य स्थानीय तहले पनि सिक्ने कि ?














प्रतिक्रिया दिनुहोस्