जनता टाइम्स

१६ मंसिर २०८२, मंगलवार १८:१६

महाधिवेशनको उद्घाटन सत्र प्रतिगमन विरोधी संघर्ष र उत्सव दुवैको एउटा क्लाइमेक्स : शंकर पोखरेल


काठमाडौं, मंसिर १६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ११औँ महाधिवेशनको उद्घाटन सभामा सहभागी भई प्रतिगमनलाई अन्तिम धक्का दिन सबैलाई आह्वान गर्नुभएको छ ।

एमाले वन तथा वातावरण विभागले मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो अपिल गर्नुभएको हो । एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदै छ । सो सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रूपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाइ थियो ।

‘हाम्रो पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुर सल्लाघारीको तीनकुने चौरमा नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रूपमा आयोजना गर्न चाहन्छौँ । वास्तवमा नेपालका प्रमुख दलहरूसँग जनता छ कि छैनन् भन्ने कुराको सन्देश हामी त्यो सभाको माध्यमाबाट दिन चाहन्छौँ,’ महासचिव पोखरेलले भन्नुभयो ।

पोखरेलले सो सभामार्फत एमालेले ठूला दलहरूको पक्षमा जनमत छन् भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पार्नुभयो । सो सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरू सबै उपस्थित हुने विश्वास उहाँको छ ।

‘त्यो प्रतिगमन विरुद्धको संघर्षको पनि उत्कर्ष हुनेछ । र त्यो हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ । संघर्ष र उत्सवको एउटा क्लाइमेक्सको रूपमा त्यो सभालाई हामीले बनाउन खोजिराखेका छौ । म देशभरका जनताका पक्षधर, लोकतन्त्रका पक्षधर, देशभक्तिका पक्षधर सम्पूर्ण नेपाली जनतालाई नेकपा एमालेको त्यो उद्घाटन सत्रमा आमन्त्रण गर्न चाहन्छु,’ पोखरेलले भन्नुभयो ।