काठमाडौं, मंसिर २१ । मंसिर २७ बाट सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा रामेछापबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नु भएकाे छ ।
रामेछाप जिल्ला भूगोल भएका केन्द्र, प्रदेश तथा जिल्लाका प्रतिनिधि लगायतका नेताहरूले पार्टी अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो ।
भेटमा पार्टी अध्यक्ष ओलीले प्रतिनिधिहरूलाई अनावश्यक बहकाउमा नलाग्न आग्रह गर्नुभयो । उहाँले सहमतिबाट नै नेतृत्व चयनको लागि प्रयास भइरहेको बताउँदै महाधिवेशन बाहिर चर्चा गरिएजस्तो तिक्ततापूर्ण नहुने बताउनुभएको भेटमा सहभागी एमाले वाग्मती प्रदेश कमिटी सदस्य तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
भेटका क्रममा नेताहरूले अध्यक्ष ओलीलाई जिल्लाको वस्तुस्थिति बारे संक्षिप्त जानकारी गराउनुभएको थियो ।
अध्यक्ष ओलीलाई भेट्न पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल तथा जिल्लाबाट प्रतिनिधि छानिएका नेताहरू गुण्डु पुग्नु भएको थियो ।

रामेछापमा खुल्ला तर्फबाट शान्तिप्रसाद पौडेल, आनन्द श्रेष्ठ, टङ्क चौलागाईँ, पुरुषोत्तम कडरिया, इन्द्र तामाङ, ज्ञानकुमार योञ्जन प्रतिनिधि हुनुहुन्छ । त्यस्तै महिलाबाट गंगादेवी कार्की, सीता खत्री, मखमली श्रेष्ठ र शान्ता न्यौपाने सुवेदी महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । युवाबाट बलबहादुर माझी र उत्पीडित समुदायबाट सीताराम लोहार प्रतिनिधि हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्