जनता टाइम्स

२४ मंसिर २०८२, बुधबार १२:००

आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएर होइन वस्तुनिष्ठ समीक्षा गरौँ, सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयन गरौँ : प्रदीप ज्ञवाली 


काठमाडौं, मंसिर २४। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग-अलग आयोजना गर्ने व्यवस्थाको तात्त्विक महत्त्व स्पष्ट पार्दै आसन्न महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।

एकै मञ्चमा नीति र नेतृत्वको निर्णय हुँदा नीतिगत बहस ओझेलमा पर्ने तथा नेतृत्वप्रति  ध्यान केन्द्रित हुने हुँदा नीतिमाथि प्रत्यक्ष प्रभाव पार्ने विगतका अनुभवहरूको आधारमा दुवै महाधिवेशनलाई पृथक् रूपमा गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उहाँले विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयनका लागि हुने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक नहुने स्पष्ट पार्दै दुई महाधिवेशनका बिचमा उत्पन्न हुन सक्ने राष्ट्रिय राजनीतिक परिवर्तनका विषयमा आवश्यक नीति संशोधन गर्ने अधिकार महाधिवेशनले केन्द्रीय कमिटीलाई नै प्रदान गरेको उल्लेख गर्नुभयो । ‘हरेक घटना र परिस्थितिका लागि महाधिवेशन बोलाउन सम्भव हुँदैन, त्यसैले नीति अद्यावधिक गर्ने प्रक्रिया केन्द्रीय कमिटीमार्फत अघि बढ्छ,’ उहाँले बताउनुभयो ।

सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक र गलत साबित भएको स्मरण गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक निर्णय महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीबाट लिनुपरेको परिस्थिति त्यसको उदाहरण भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार कार्यशैली, उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा आवश्यक भए पनि आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरताले बढेको वातावरणमा यस्तो समीक्षा ‘आरोप–प्रत्यारोप’ र ‘ब्लेम गेम’ मा परिणत हुने जोखिम रहन्छ । वर्तमानमा नेतृत्वमाथि गम्भीर चुनौती रहेको र विधानअनुसार स्थापना गरिएको स्वयंसेवक संस्थाबारे समेत भिन्न आवाज उठिरहेको अवस्थालाई उहाँले उदाहरणका रूपमा प्रस्तुत गर्दै समग्र विषयमा सम्यक विश्लेषण अहिलेको घडीमा व्यवहारिक नदेखिएको बताउनुभयो । ‘आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएको बेला गरिने समीक्षा वस्तुनिष्ठ हुन सक्दैन, त्यो आरोप- प्रत्यारोप र ‘ब्लेम गेम’ मा रूपान्तरित हुन्छ, नेतृत्वमाथि यति गम्भीर चुनौती खडा भएको बेला विधानको व्यवस्था बमोजिम स्थापना गरिएको स्वयंसेवक संस्थाबारे त कतिपय भिन्न स्वर सुनिन्छन् भने यति बेला समग्र विषयमा सम्यक विश्लेषण सम्भव देखिँदैन’, उहाँले भन्नुभयो ।

उहाँले आगामी महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित गर्दै सहमतिको यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गर्नुभयो । सहमति हुन नसकेमा स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यासमार्फत प्रक्रिया अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको एनपिएलका खेलाडीहरूले देखाएको सकारात्मक ‘स्पोर्टम्यानसिप’को उदाहरण दिँदै ज्ञवालीले पार्टीका नेता तथा प्रतिनिधिहरूले पनि त्यही स्तरको मर्यादा र अनुशासन अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।