काठमाडौं, मंसिर २५। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीले ११ औँ महाधिवेशन पार्टीलाई नयाँ शिराबाट अघि बढाउने महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ।
मुलुक आर्थिक, राजनीतिक र सामाजिक रूपमा चुनौतीपूर्ण मोडमा रहेको वर्तमान परिस्थितिमा एमालेले राष्ट्रियता सुदृढ गर्ने, राजनीतिक स्थिरता कायम गर्ने र यथास्थितिवादी तथा प्रतिक्रियावादी शक्तिको प्रभावलाई निस्तेज पार्ने निर्णायक भूमिका खेल्न जरुरी रहेको उहाँको धारणा छ । चौधरिले देशलाई पछाडि धकेल्ने प्रयासहरू रोक्न सक्षम नेतृत्व आवश्यक भएको उल्लेख गर्दै एमालेले यस दिशामा अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘यो पटकको महाधिवेशनले नेकपा एमालेलाई नयाँ शिराबाट अगाडी बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ, यतिबेला मुलुक आर्थिक, राजनीतिक तथा सामाजिक रूपमा कठिन मोडमा उभिएको छ, राष्ट्रियता कमजोर बनाएर राजनीतिक अस्थिरता निम्त्याउँदै देशलाई २० वर्ष पछाडि धकेल्न यथास्थितिवादी र प्रतिक्रियावादीहरूको चलखेललाई निस्तेज बनाउन पनि नेकपा एमालेले नेतृत्व लिनै पर्दछ’, चौधरिको धारणा छ ।
पार्टीभित्र आपसी एकता, समझदारी र नेतृत्वलाई थप सबल बनाउनु आजको आवश्यकता रहेको उहाँको भनाइ छ। पार्टीभित्र युवा सहभागिता, समावेशिता, गतिशीलता तथा लोकतान्त्रीकरण सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। ‘वर्तमान कठिन परिस्थितिमा एमाले भित्र आपसी एकता, समझदारी र नेतृत्वलाई थप बलियो बनाउन जरुरी छ, पार्टीमा युवा सहभागिता, समावेशिता, गतिशीलताको साथै लोकतान्त्रिकरणको जरुरी छ, आशा गर्दछु, ११ औं महाधिवेशनले एमालेलाई अझ परिष्कृत, जिम्मेवार बनाउने छ’, चौधरिले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्