जनता टाइम्स

२ पुष २०८२, बुधबार ०७:०४

एमाले महाधिवेशन : आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै


काठमाडौं,  पुस २ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मंगलबारका लागि तय भएको मतदान अन्तिम समयमा आएर बुधबार बिहान ८ बजेका लागि सारिएको हो ।

निर्वाचन आयोगले तयार गरेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लाग्ने प्राविधिक समस्या उत्पन्न भएपछि मतदान सारिएको महासचिव शंकर पोखरेलले बताउनुभयो ।त्यही कारण आयोगको निर्देशनअनुसार मतदान बुधबार बिहानबाट शुरू गर्नेगरी मंगलबार स्थगित गरिएको उहाँको भनाई छ।

एमालेको मतदान मंगलबार दिउँसोदेखि हुने भनिएको थियो । तर, प्राविधिकलगायतका कारण देखाउँदै पटक–पटक मतदानको समय सर्दै आएको छ ।

मंगलबार राति ८ बजेदेखि हुने भनिएको मतदान पनि मतदाताहरू लाइनमा बसिसकेको अवस्थामा स्थगित गरिएको थियो । एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाउनुभएको छ ।

ओली प्यालनको उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल हुनुहुन्छ। महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल हुनुहुन्छ ।

यसैगरी, सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्‌मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की हुनुहुन्छ ।

पोखरेलको प्यानलमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ हुनुहुन्छ । यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार बनेका छन् ।यसैगरी, सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाललाई अगाडि सारिएको छ ।