जनता टाइम्स

२ पुष २०८२, बुधबार ११:५०

एमाले ११ औँ महाधिवेशनः नेतृत्व चयनका लागि मतदान जारी


काठमाडौं, पुस २। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ ।

काठमाडौंको भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै औपचारिक रूपमा मतदान सुरु भएको हो । उहाँहरूले मतदान गरेपछि अहिले महाधिवेशन प्रतिनिधिहरूले धमाधम मतदान गरिरहनु भएकाे छ ।

सुरुवाती चरणमा मतदान गरेका अध्यक्षका प्रत्याशी ओली र पोखरेललाई मतदान प्रक्रिया पूरा गर्न करिब ४० मिनेट समय लागेको थियो । त्यसपछि निर्वाचन समितिले व्यवस्थापन मिलाउँदै अहिले एक पटकमा ५० जना प्रतिनिधिलाई मतदान कक्षभित्र प्रवेश गराउने व्यवस्था गरेको छ ।

मतदान प्रक्रियाअनुसार प्रतिनिधिहरू भित्र प्रवेश गरेपछि पहिले प्रतिनिधि कार्ड स्क्यान गरिन्छ । त्यसपछि तोकिएको स्थानमा कार्डमा प्वाल पारिन्छ । सबै प्रक्रिया पूरा भएपछि प्रतिनिधि बुथमा रहेको विद्युतीय ‘मेसिन’मार्फत मतदान गर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिले मतदान गर्न ४० मिनेटदेखि एक घण्टासम्म लगाएका छन् । मतदान जारि रहँदा मतदानस्थल बाहिर मत माग्ने उम्मेदवार र समर्थककाे पनि भिड लागेकाे छ ।

महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य तथा आयाेगका सदस्य चयनका लागि मतदान भइरहेको छ । निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको निर्वाचन आयाेगले जनाएको छ ।