जनता टाइम्स

२ पुष २०८२, बुधबार १४:४७

हर्क साम्पाङकाे श्रम संस्कृति पार्टीका उपाध्यक्ष नै बम विष्फोट र व्यक्ति हत्याको घटनमा संलग्न 


काठमाडौं, मंसिर २। नयाँ क्रान्तिका लागि भनेर धरानका मेयर हर्क साम्पाङले खोलेको पार्टीका नेता नै बम विष्फाेट काण्डका दोषी भएको पाइएको छ ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) बबरमहल बम विष्फोट काण्डमा दोषी देखिएका छन् ।  सो घटनमा संलग्न भएको आरोपमा प्रहरीले तामाङलाई पक्राउ गरेपछि पार्टीले पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ।

पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुसन्धान प्रक्रियामा कुनै पनि किसिमको अवरोध नपुगोस् भन्ने उद्देश्यले तामाङलाई पार्टीको कुनै पनि पदमा नरहने गरी निलम्बन गरिएको जानकारी दिनुभएको छ। उहाँले अनुसन्धान नटुङ्गिएसम्म निलम्बन कायम रहने स्पष्ट पार्नुभयो।

अध्यक्ष साम्पाङका अनुसार राजनीतिक गतिविधिकै कारण प्रहरीले तामाङलाई पक्राउ गरेको भए पनि पार्टीले कानुनी प्रक्रियामा बाधा नपुर्‍याउने नीति लिएको छ। अनुसन्धान स्वतन्त्र र निष्पक्ष ढङ्गले अघि बढोस् भन्ने आफूहरूको चाहना रहेको उहाँले बताउनुभयो ।

पक्राउ परेका तामाङ ‘विश्व क्रान्ति’ उपनामबाट संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा सक्रिय रहेको प्रहरीले जनाएको छ। उक्त संगठनमा रहँदा तामाङमाथि काठमाडौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग लागेको छ।

प्रहरीका अनुसार सो संगठनले २०६८ फागुन १५ गते बबरमहलस्थित आयल निगमको गेटमा बम विस्फोट गराएको थियो। उक्त घटनामा तीन जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए।

यस्तै, पाँचथरमा एक जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा पनि तामाङ मुछिएको प्रहरीको दाबी छ। तत्कालीन समयमा उक्त संगठन भूमिगत रूपमा रहेर हिंसात्मक गतिविधिमा संलग्न थियो।

यसअघि पक्राउ परेर जेल चलान भएका तामाङ २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीपछि रिहा भएका थिए। उनी पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा संलग्न आरोपमा पक्राउ परेका थिए।