जनता टाइम्स

७ पुष २०८२, सोमबार १२:४७

एमालेले कठिन समयमा पनि महाधिवेशन गरेकाे भन्दै कांग्रेस महामन्त्री गगन थापाले गरे प्रशंसा 


काठमाडौं, पुस ७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबैभन्दा प्रतिकूल परिस्थितिमा पनि नेकपा एमालेले महाधिवेशन सम्पन्न गरेको भन्दै त्यसको प्रशंसा गर्नुभएको छ । उहाँले उक्त उदाहरणबाट कांग्रेसले गम्भीर पाठ सिक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ को कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसजत्तिकै ठूलो संगठनात्मक सञ्जाल भएको एमालेले व्यवस्थित ढंगले महाधिवेशन सम्पन्न गरेको उल्लेख गर्नुभयो । त्यस सन्दर्भमा उहाँले महाधिवेशन नगरी कांग्रेस जनतामा जान नसक्ने स्पष्ट धारणा राख्नुभयो । ‘एमालेले कठिन परिस्थितिका बाबजुद महाधिवेशन गरेर देखायो, अब कांग्रेसले महाधिवेशन नगरी चुनावतर्फ जाने अवस्था रहँदैन,’ महामन्त्री थापाको भनाइ छ ।

उहाँले तोकिएको समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘जुनसुकै मूल्य चुकाएर भए पनि महाधिवेशन गराएरै छाडिन्छ,’ उहाँले भन्नुभयो, ‘महाधिवेशन नगरी कांग्रेस चुनावमा जाँदैन भन्ने कुरा स्पष्ट छ ।’

महामन्त्री थापाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा पनि गर्नुभयो । उहाँले आफूले चुनाव जित्ने दाबी गर्दै पहिलो चरणमै जित्ने लक्ष्यसहित देशव्यापी अभियानमा लाग्ने बताउनुभयो ।