काठमाडौं, पुस ८। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान सरकारको कार्यशैली गैरजिम्मेवारपूर्ण रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जेनजी आन्दोलनमा विध्वंस मच्चाउने राष्ट्रकै अपराधीहरु हुन्, उनीहरुलाई अहिलेको सरकारले कारवाही गर्छ कि गर्दैन ? आज सिंगो देशमा प्रश्न उठाइरहेको छ, आजसम्म ती अपराधीहरु एकजनालाई पनि कारबाही गरेको छैन, म यो सरकारको अर्कमण्यता, गैर जिम्मेवारीप्रति आक्रोश व्यक्त गर्न चाहन्छु ।’
उहाँले देशी र विदेशी प्रतिगामीहरुको षड्यन्त्रमा जेनजीहरु फसेको धारणा राख्नुभयो । सबै जेनजीहरुले एक पटक छातीमा हात राखेर विध्वंसले आफ्नो भविष्य जल्यो कि जलेन भनेर सोच्न आग्रह गर्नुभयो । ‘उनीहरु देशी र विदेशी प्रतिगामीहरुको षड्यन्त्रमा फसे, उनीहरुले आफ्नै देश चिनेन आफ्नो कर्तव्य देशप्रतिको जिम्मेवारी बुझेनन् र देशमा विध्वंस मच्चाउने काम गरे, देशलाई जलाउने काम मात्र गरेनन् जेनजी भाइबहिनीहरुको भविष्य जलाउने काम भयो, सबै जेनजी भाइबहिनीहरुले एक पटक छातीमा हात राखेर सोच्न आग्रह गर्दछु- के विध्वंसले तपाईहरुको भविष्य जलेन ? सोच्नुपर्नेछ यो तपाईहरुको भविष्य जलाउने काम गरिएको छ ।’













प्रतिक्रिया दिनुहोस्