जनता टाइम्स

१० पुष २०८२, बिहीबार १९:००

फागुन २१ मा निर्वाचन गर्न उपयुक्त वातावरण बन्न सकेको छैन : विश्वप्रकाश शर्मा 


काठमाडौं, पुस १०। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस महाधिवेशनकारे कार्यतलिकालाई यथार्थपरक ढङ्गले परिमार्जन गर्नुपर्ने बताउनुभएको छ।

आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उहाँले  वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेर पुस २६ मै महाधिवेशन गर्ने अर्का महामन्त्री गगन थापाको प्रस्तावलाई समर्थन जनाउँदै पार्टीलाई अनावश्यक अन्योल र ढिलासुस्तीबाट जोगाउन समयमै निर्णय लिनुपर्ने बताउनुभयो। ‘महाधिवेशन पार्टीको जीवनरेखा हो, यसलाई टार्ने होइन, व्यवस्थित ढङ्गले सम्पन्न गर्ने साहस नेतृत्वले देखाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

निर्वाचनको विषयमा महामन्त्री शर्माले फागुन २१ गते चुनाव गर्ने सरकारी तयारीप्रति यथार्थपरक प्रश्न उठाउनुभयो। उहाँका अनुसार हालको राजनीतिक, प्रशासनिक र सुरक्षा वातावरणले फागुन २१ मा निर्वाचन हुन सक्ने अवस्था बनाइसकेको छैन। ‘फागुन २१ मा निर्वाचन गर्न उपयुक्त वातावरण बन्न सकेको छैन, चुनाव हुन कि त सरकारले आवश्यक वातावरण बनाउन सक्नुपर्छ कि त सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनलाई केवल मितिको प्रश्नका रूपमा होइन, संवैधानिक, राजनीतिक र सामाजिक सहमतिसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो। संवैधानिक जटिलता सम्बोधन गर्न वैकल्पिक उपायसमेत अघि सार्दै उहाँले फागुन २१ मै सात प्रदेशका सात फरक–फरक क्षेत्रमा चरणबद्ध रूपमा निर्वाचन गर्न सकिने प्रस्ताव राख्नुभयो। यसो गर्दा एकातिर संवैधानिक समयसीमाको सम्मान हुने र अर्कातिर व्यवस्थापकीय चुनौती पनि केही हदसम्म समाधान हुन सक्ने उहाँको तर्क थियो।

बैठकमा महामन्त्री शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने जानकारी दिँदै पार्टीभित्र नयाँ पुस्ता र नयाँ अनुहारलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो। ‘म आगामी निर्वाचनमा उम्मेदवार बन्दिनँ,’ उहाँले स्पष्ट रूपमा भन्नुभयो।

उहाँले आफू लगातार तीन पटक उम्मेदवार भइसकेको तथ्य उल्लेख गर्दै अब आफू पछि हटेर अरूलाई अघि सार्नुपर्ने समय आएको धारणा राख्नुभयो। ‘मैले तीन पटक उम्मेदवारी दिएँ, अब पार्टीका अरू सक्षम र प्रतिबद्ध साथीहरूलाई अघि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो ।