जनता टाइम्स

१३ पुष २०८२, आईतवार ०९:१०

रवि लामिछाने–बालेन साह सहमतिप्रति हर्क साम्पाङको टिप्पणी : ‘विदेशीको इशारामा देश चलाउने सपना’


काठमाडौ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनबिच एकताको ७ बुँदे सहमति प्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा प्रतिक्रिया जनाउनु भएकाे छ ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको टिप्पणी गरेका छन्। ‘जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ,’ उहाँले लेख्नु भएकाे छ, ‘फटाहाहरू।’

उहाँले सिंहदरबार जलाउने गतिविधि र ‘जेन–जी’ को हत्या जस्ता गम्भीर  सवाल उठाउँदै विदेशी शक्तिको इशारामा देश चलाउने प्रयास भइरहेको दाबी गर्नु भएकाे छ। ‘सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे,’ साम्पाङको टिप्पणि छ।

साम्पाङले आफूहरू कुनै पनि विदेशी दलाली गरेर आउने राजनीतिक शक्तिसँग सहकार्य नगर्ने स्पष्ट पार्नु भएकाे छ। ‘हामी नेपाली जनता, ३ करोड नेपाली जनतासँग मात्रै मिल्छौँ,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ । ‘विदेशी दलाली गरेर आउने कुनै पनि पार्टीहरूसँग मिल्दैनौँ’, उहाँकाे स्पष्ट धारणा छ ।

उहाँले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत फैलाइँदै गएको भ्रामक प्रचारप्रति पनि आपत्ति जनाउँदै ‘फेक मिडिया ट्रायल’ रोक्न आग्रह गर्नु भएकाे छ ।

रवि लामिछाने र बालेन्द्र साहबिचको एकतासम्बन्धी सहमतिलाई लिएर राजनीतिक वृत्तमा चर्चा चलिरहेकाे बेला हर्क साम्पाङको यो प्रतिक्रिया आएको हो।