काठमाडौं, पुस १८ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा आयोजना हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तय गरिएको कार्यतालिका संशोधन गर्दै महाधिवेशनको नयाँ मिति र स्थान निर्धारण गरेको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण कार्यतालिका सर्वसम्मत रूपमा संशोधन गरेको पार्टीले जनाएको छ ।
बैठकले २०८२ मंसिर १५ गते केन्द्रीय कार्यसमितिले निर्णय गरेको नियमित १५औँ महाधिवेशनको प्रक्रिया विधानअनुसार अघि बढिसकेको अवस्थामा ‘विशेष महाधिवेशन’ को माग स्वतः समाप्त भइसकेको स्पष्ट पारेको छ । पार्टी विधानबमोजिम समयमै नियमित महाधिवेशन हुने भएकाले विशेष महाधिवेशनको औचित्य नरहेको निर्णयमा उल्लेख छ ।
बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गएकाले पार्टीका सबै संरचना, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरू, सदस्य, समर्थक र शुभेच्छुकलाई निर्वाचन केन्द्रीत हुन अपिल गरेको छ । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको पक्षमा बहुमत दिलाउन सबै तहका कार्यकर्ता परिचालित हुनुपर्ने निर्णय गरिएको छ ।
महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणलाई पहिलो प्राथमिकतामा राख्दै त्यससम्बन्धी विस्तृत कार्यतालिका पनि संशोधन गरिएको छ । नयाँ क्रियाशील सदस्यता वितरण, प्रारम्भिक तथा केन्द्रीय छानविन, अन्तिम सूची प्रमाणिकरणदेखि अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।
संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन २०८२ चैत २१ गते, गाउँ/नगरपालिका अधिवेशन चैत २५ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन चैत २८ गते, प्रतिनिधि सभा क्षेत्रीय तथा जिल्ला अधिवेशन २०८३ वैशाख २ र ५ गते हुनेछन् । प्रदेश अधिवेशन २०८३ वैशाख १०, ११ र १२ गते आयोजना गरिनेछ ।
केन्द्रीय महाधिवेशन सम्पन्न नहुँदासम्म विशेष परिस्थितिलाई मध्यनजर गर्दै नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४३ बमोजिम पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म थप गरिएको पनि बैठकले निर्णय गरेको छ ।
बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवन परियार तथा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., उमा रेग्मी, जीपछिरिङ लामा र सुजाता कोइरालाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्