पर्सा, पुस २२ । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ। यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यु आदेश लागू गरेको थियो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार धार्मिक विषयलाई लिएर उत्पन्न विवादको समाधानका लागि प्रयास जारी रहेकाले कर्फ्यु अवधि थप गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी कर्फ्यु आदेश जारी गरिएको प्रजिअ दाहालले जानकारी दिनुभयो।
कर्फ्यु लागू भएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने व्यवस्था गरिएको छ। प्रशासनका अनुसार पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्र कर्फ्युको दायराभित्र परेको छ।
प्रजिअ दाहालले कर्फ्यु अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गर्नुभएको छ। निस्कनै परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र बाहिर निस्कन अनुरोध गरिएको छ। कर्फ्यु उल्लङ्घन गरेमा सुरक्षाकर्मीले कडा कदम चाल्न सक्ने चेतावनी पनि प्रशासनले दिएको छ।
कर्फ्यु आदेश लागू रहेकै समयमा एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्