रामेछाप, पुस २२ । नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले भदौ २३ र २४ गते भएका विनाशकारी घटनापछि नेकपा एमाले क्रमशः तङ्ग्रिँदै अहिलेको अवस्थामा आइपुगेको बताउनुभएको छ।
नेकपा एमाले रामेछापको बैठकलाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले करिब तीन महिनाको अवधिमा एमाले पुनः पूर्ववत् अवस्थामा फर्किएको उल्लेख गर्नुभयो। उहाँले नेपाली कांग्रेस हाल बामे सर्दै गएको र एमालेले भने आफूलाई मजबुत रूपमा उभ्याएको दाबी गर्नुभयो।

उहाँले साम्राज्यवादी शक्तिहरूले दल, नेता र पार्टी ठिक छैनन् भन्ने भ्रम फैलाउँदै आफ्ना पात्रहरू अगाडि ल्याउने प्रयास गरेको बताउनुभयो। ‘भाइरल हुन सक्ने व्यक्तिलाई उचालेर, राजनीतिभन्दा बाहिरका मानिसलाई यो मुलुकको बागडोर सुम्पन उनीहरू चाहन्छन्,’ उहाँले भन्नुभयो, ‘संविधान समाप्त गरेर प्रत्यक्ष कार्यकारी प्रणालीमार्फत आफ्ना मानिस ल्याउने उनीहरूको योजना असफल भएपछि अहिले बहुमत आए पनि आफ्नै मानिसलाई प्रधानमन्त्री बनाउने सोचका साथ बालेन, रवि र कुलमानलाई अघि सारिएको छ।’
दलहरूलाई कमजोर पारेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने सोचका साथ चुनावतर्फ धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष ढुङ्गेलले अहिले देश क्रमशः निर्वाचनतर्फ गइरहेको बताउनुभयो। उहाँले संविधान र व्यवस्थालाई कमजोर बनाउने शक्तिहरूका विरुद्ध संविधानका पक्षधरहरू एकजुट भएर उभिनुपर्नेमा जोड दिनुभयो।
पुष्पलालको जिल्ला रामेछापबाट एमालेले निर्वाचन जित्नै पर्ने उल्लेख गर्दै अध्यक्ष ढुङ्गेलले त्यसका लागि सांसदवादी दलहरूसँग सहकार्य गरेर वा एमाले एक्लै चुनाव लडेर भए पनि जित सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्