जनता टाइम्स

२२ पुष २०८२, मंगलवार २३:१२

एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा मीनबहादुर शाही


काठमाडौ, पुस २२। नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनुभएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कालिकोट निवासी शाही सामुदायिक रेडियो क्षेत्रको पृष्ठभूमिबाट एमालेको राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ सामुदायिक सूचना नेटवर्कका संस्थापक हुनुहुन्छ भने सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ ।

यस्तै, शाही हाल सामुदायिक रेडियो विश्व संगठनको सह–अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ । २०७४ सालमा उहाँ राष्ट्रिय योजना आयोगको सदस्य रहनुभएको थियो । यसअघि उहाँ मानव अधिकार एलायन्सको अध्यक्षको भूमिकामा पनि रहनुभएको थियो ।

पार्टी प्रचार, सूचना प्रवाह र प्रकाशन कार्यलाई व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले प्रचार तथा प्रकाशन विभागको नेतृत्व शाहीलाई दिइएको एमालेले जनाएको छ । सचिवालय बैठकले पार्टीको नीति, कार्यक्रम र राजनीतिक सन्देशलाई आम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउने जिम्मेवारी विभागले निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।