जनता टाइम्स

२३ पुष २०८२, बुधबार १८:२३

दलविहीन सरकारमाथि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रश्नः दलका नेता मन्त्री हुँदा सरकार कसरी दलविहीन हुन्छ ?


काठमाडौं, पुस २३। कोसी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मतकुमार कार्कीले निर्वाचन गराउन गठन गरिएको भनिएको दलविहीन सरकारको संरचनामाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले वर्तमान सरकार साँच्चिकै दलविहीन हो कि होइन भन्ने विषयमा स्पष्टता माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै निर्वाचन गराउने उद्देश्यले गठन गरिएको भनिएको सरकारमै निर्वाचन लड्न गठित केही दलका नेताहरू मन्त्रीका रूपमा सहभागी हुनु विरोधाभासपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।

‘निर्वाचन गराउन गठित दलविहीन सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, निर्वाचन लड्न गठित केही दलका नेता यहाँको मन्त्रिपरिषद्मा हुनुहुन्छ,’ मुख्यमन्त्री कार्कीले लेख्नुभएको छ, ‘अब पनि सरकार दलविहीन नै हो कि खास वा कुनै दल हुँदा त्यो चाहिँ क्षम्य हुने हो ?’

मुख्यमन्त्री कार्कीको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिस्थितिमा नागरिक सरकार भनिएको सरकार, मन्त्रीहरूको दलगत संलग्नता र त्यसले लोकतान्त्रिक मान्यतामाथि पार्ने असरका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ । उहाँको भनाइले सरकारको वैधानिकता, पारदर्शिता र राजनीतिक नैतिकताबारे बहसलाई थप चर्काउने सङ्केत देखिएको छ ।

सरकारका चार भन्दा बढी मन्त्रीहरु राष्ट्रिय स्वतन्त्र पार्टीस‌ँग जाेडिनु र स्वयम् सरकार गठनमा भूमिका खेल्ने प्रमुख पात्र सुधन गुरुङ नै साे पार्टीसँग जाेडिनुले अहिलेकाे सरकार अघाेषित रुपमा रास्वपाकाे एकलौटी सरकार बनेकाे छ ।