जनता टाइम्स

२४ पुष २०८२, बिहीबार १७:१९

बालेनले गम्भीर घात गरेको समर्थककै आरोप, लौरो चुनाव चिह्नलाई बार्गेनिङको हतियार बनाएको भन्दै मागे फिर्ता


काठमाडौं, पुस २४ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको हतियार बनाएको आरोप समर्थकहरूले नै लगाएका छन ।

बुद्धनगरस्थित एक बैंक्वेटमा बिहीबार लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानको विशेष भेला तथा पत्रकार सम्मेलनमा बालेनमाथि यस्तो आरोप लगाइएको हो । आयोजक समुहले रास्वपाका वरिष्ठ नेता तथा मेयर बालेनले लौरो चुनाव चिह्नलाई निजी स्वार्थमा प्रयोग गरेको बताउँदै आपत्ति जनाए ।

पत्रकार सम्मेलनमा आम स्वतन्त्र व्यक्तिको गम्भीर ध्यानाकर्षण भएको भन्दै बालेनलाई लौरो फिर्ता गर्न भनिएको छ । ‘रास्वपामा प्रवेश नगर्दासम्म बालेन्द्र साह लौरो अभियानका स्टेकहोल्डर थिए । उनको टिम राजनीतिमा दलगत प्रवेश गरे । लौरो भनेको स्वतन्त्रहरुको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिर हो,’ पत्रकार सम्मेलनमा सहभागीहरूको भनाई थियो ।

बालेन साह र उनको टिमले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुनिश्चित सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्नु पर्ने अडान पनि अभियन्ताहरुले राखेका छन । देशभरका स्वतन्त्र व्यक्ति र लौरो अभियानका अभियान्ताहरुले लौरो चुनाव चिह्नलाई रुपान्तरण र पुस्तान्तरणको अभियानमा प्रयोग गरेको भन्दै उनीहरुले लौरो चिह्न व्यक्ति समूह तथा गुटको निजी सम्पत्ति कहिल्यै पनि नरहेको बताए । सो अभियानमा रास्वपाका सभापति रबि लामिछानेका सहोदर दाजु हरिशरण लामिछानेसमेत सहभागी रनुभएको छ ।