जनता टाइम्स

५ माघ २०८२, सोमबार ०९:१२

पूर्वमन्त्री प्रदीप यादव र इस्तियाक राई, वीरगञ्जका मेयर राजेशमान सिंह सहित विभिन्न दलका नेताहरू एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत


काठमाडौं, माघ ५ । पूर्वमन्त्री प्रदीप यादव, पूर्वमन्त्री इस्तियाक राय, बाँके–पर्सा क्षेत्रका प्रभावशाली राजनीतिक व्यक्तित्वहरू तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित १४ जना वडाध्यक्षहरू नेकपा एमालेमा प्रवेश गर्नु भएको छ। साथै, कांग्रेस केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारी (सुनसरी) पनि एमालेमा समाहित हुनु भएको छ।

पूर्वमन्त्री प्रदीप यादव, पूर्वमन्त्री इस्तियाक रायलगायतका नेताहरू गएराति औपचारिक रूपमा एमाले प्रवेश गर्नु भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा लगाइदिँदै उहाँहरूलाई एमालेमा स्वागत गर्नु भएको थियो।

पूर्वमन्त्री इस्तियाक राय मधेस केन्द्रित राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँले यसअघि विभिन्न जिम्मेवारीमा रहँदै संघीयता, समावेशिता र मधेसका सवालमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। पछिल्लो समय पार्टीगत अस्थिरता र राजनीतिक दिशाबारे असन्तुष्टि जनाउँदै उहाँ एमालेमा प्रवेश गर्नु भएको हाे ।

पूर्वमन्त्री प्रदीप यादव ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्रीका रूपमा कार्यरत रहनु भएको थियो। गत भदौ २३ र २४ गते भएको जेन–जी युवा आन्दोलनपछि मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उहाँ अध्यक्ष ओलीसँगै मन्त्री पदबाट हट्नु भएको थियो।

जेन–जी आन्दोलनपछि यादव अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गर्नु भएको थियो। पछिल्लो समय उहाँ जसपा नेपालका समन्वय समिति सदस्य रहनु भएको थियो। प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा उहाँले जसपा नेपाल पनि परित्याग गर्दै एमाले प्रवेश गर्नु भएको हो।

पूर्वमन्त्री यादव पुनः पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा रहनु भएको बताइएको छ। मधेसका प्रमुख नेताहरुकाे एमाले प्रवेशसँगै मधेस क्षेत्रको राजनीतिमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।