काठमाडौ, माघ ७। नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी निर्वाचनमा देश निर्माणको एजेन्डा बोकेका शक्तिभन्दा देशलाई कमजोर बनाउने योजनासहित केही पात्रहरू सक्रिय भएका बताउनुभएको छ ।
फागुन २१ गते हुने चुनावी सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू राजनीतिको मैदानमा देखा परेका बताउनुभयो । उहाँका अनुसार ती शक्तिहरूको उद्देश्य देश र जनताको जीवन परिवर्तन गर्नु नभई डिजिटल ‘अल्गोरिदम’को खरिद–बिक्रीमार्फत सत्ता कब्जा गर्नु रहेको छ । ‘देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्, लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता कब्जा गर्न राजनीतिमा प्रवेश गरेका छन्’ , बस्नेतकाे धारणा छ ।
बस्नेतले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत सिर्जना गरिएका कृत्रिम आवाजहरू जनताको वास्तविक आवाज नभएको दाबी गर्नुभयो । ‘उनीहरूका साइबर फ्याक्ट्रीबाट निस्केका आवाजहरू जनताको चाहना होइनन्,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई समयमै चिन्न आवश्यक छ ।’
बस्नेतले यस्तो प्रवृत्तिप्रति सजग रहन सबैलाई आह्वान गर्दै अल्गोरिदममार्फत देश कब्जा गर्न खोज्ने शक्तिबाट लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउनु आजको मुख्य चुनौती भएको उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनलाई लोकतान्त्रिक मूल्य, जनताको अधिकार र राष्ट्रिय हितको रक्षा गर्ने अवसरका रूपमा बुझ्नुपर्नेमा पनि जोड दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्