विराटनगर, माघ १५। कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेदेखि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेश सभाको बैठक बोलाउने गरी सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो। बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पराजुलीले प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माण कार्य जारी रहेकाले वैकल्पिक व्यवस्थाका रूपमा विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने बताउनुभयो। उहाँका अनुसार सभागृह मासिक ८ लाख रुपैयाँ भाडा तिर्ने गरी अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ।
मन्त्रीपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित अन्य छ वटा महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।
बैठकले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२ स्वीकृत गरेको छ। त्यस्तै, प्रदेशमा कानुनी सहायता सम्बन्धी व्यवस्था गर्न कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति प्रदान गरिएको मन्त्री पराजुलीले बताउनुभयो।
विकास आयोजनातर्फ नेपाल र जापान सरकारबीचको सहमतिमा सञ्चालन भइरहेको कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजना मा प्रयोग हुने सवारी साधनहरूलाई कर छुट दिने प्रस्ताव बैठकले पारित गरेको छ।
यसैगरी, ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारले साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय गरेको छ। उक्त कार्यक्रम अन्तर्गत संघीय सरकारले ७७ करोड रुपैयाँ पुँजीगत तथा चालु खर्चतर्फ ७० लाख रुपैयाँ उपलब्ध गराएको जनाइएको छ।
विपन्न नागरिकको आवास अधिकार सुनिश्चित गर्न मन्त्रीपरिषद् बैठकले कोशी जनता आवास सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०८२ स्वीकृत गरेको छ। प्रदेश सरकारले हिउँदे अधिवेशनसँगै कानुन निर्माण र विकास योजनालाई थप तीव्रता दिने तयारी गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्