दैलेख, माघ २३ । नेकपा (एमाले)का सचिव यामलाल कँडेलले देशैभरि एमालेका पक्षमा अनुकूल राजनीतिक वातावरण बनेको दाबी गर्नुभएको छ।
नेकपा (एमाले) दैलेख प्रतिनिधिसभा क्षेत्र नं. २ ले आयोजना गरेको कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै सचिव कँडेलले विगतको निर्वाचनमा सबै राजनीतिक शक्ति एकातिर र एमाले अर्कोतिर उभिएको स्मरण गर्नुभयो। यसपटक भने दलहरू आ–आफ्नै मार्गमा अघि बढेकाले एमालेका लागि परिस्थिति सहज बनेको उहाँको भनाइ छ ।
वर्तमान राजनीतिक प्रतिस्पर्धामा एमाले अग्रस्थानमा रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनलाई ‘निर्माण र विध्वंसबीचको चुनाव’ को रूपमा चित्रण गर्नुभयो। “यदि यसपटक नेकपा एमालेले जित हासिल गर्न सकेन भने देशको संविधान, लोकतन्त्र र स्थायित्व जोखिममा पर्न सक्छ,” उहाँले भन्नुभयो।
सचिव कँडेलले समाजमा पुस्तागत अन्तर स्वाभाविक भए पनि आपसी सम्मान र सहकार्य आवश्यक रहेको बताउनुभयो। ‘हाम्रो घर–परिवारमै विभिन्न पुस्ता छन्, सबैले एक-अर्काको सम्मान गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नयाँ भनिनेहरूको गतिविधिले समाज कतातिर जाँदैछ भन्ने प्रश्न उठाएको छ।’
उहाँले टिकट वितरणजस्ता विषयमा पार्टीले निर्णय गरिसकेपछि अनावश्यक टिप्पणी नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो। पार्टी एकता कमजोर भए मात्र अन्य दललाई फाइदा पुग्ने उल्लेख गर्दै उहाँले संगठनलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गर्नुभयो। “मतदातालाई उत्साहित बनाउँदै प्रत्येक जनताको घरदैलोमा एमालेको सन्देश पुर्याउन आवश्यक छ,” उहाँले भन्नुभयो।
सहकारी ठगी, सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा अराजक गतिविधिप्रति संकेत गर्दै उहाँले त्यस्ता प्रवृत्तिबाट देश निर्माण सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।
कार्यकर्ता भेलामा सचिव कँडेलले आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा सकारात्मक सन्देश प्रवाहमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो।













प्रतिक्रिया दिनुहोस्