जनता टाइम्स

२४ माघ २०८२, शनिबार २३:०७

के वृद्ध, के युवा, के बालक : झापामा केपी ओलीप्रति अपार माया  र सद्भाव 


झापा, माघ २४ । प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा गृह जिल्ला झापा पुग्नु भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति मतदाताहरूले देखाएको आत्मीयता र उत्साहले झापाको माहोल चुनावीमय बनेको छ।

अध्यक्ष ओली झापा आइपुग्दा सडकदेखि सभा स्थलसम्म समर्थकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो। बालकदेखि युवा र वृद्धसम्मले उहाँलाई फूलमाला, हात हल्लाएर र नारासहित स्वागत गरेका थिए।

कसैले मोबाइलबाट तस्बिर खिच्दै स्वागत गरे, कसैले हात समातेर आशीर्वाद मागे, त कसैले ‘ओली, ओली’ भन्दै नाराबाजी गरेका दृश्यहरूले कार्यक्रम स्थल गुञ्जायमान बनेको थियो। विशेष गरी वृद्ध मतदाताहरूले उहाँसँग भेटेर शुभकामना व्यक्त गरेका थिए भने युवाहरू सेल्फी खिच्न आतुर देखिन्थे।

बालबालिकासमेत लाइन लागेर ओलीकाे स्वागतमा उभिएको दृश्यले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।

अध्यक्ष ओलीले पनि स्वागत अभिवादन स्वीकार गर्नुभएको थियो। गृह जिल्ला भएकाले उहाँप्रति स्थानीय मतदाताको भावनात्मक सम्बन्ध झन् प्रगाढ देखिएको सहभागीहरूको भनाइ थियो।

झापामा देखिएको यो दृश्यले प्रतिनिधि सभा निर्वाचनलाई लिएर एमालेको चुनावी माहोल सशक्त रहेको देखिएकाे छ ।