विराटनगर, माघ २५ । घनश्याम भुसाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानलाई झट्का दिँदै अभियानका सचिव धर्म निरौला एमालेमा फर्किनुभएको छ। उहाँसँगै पुनर्गठन अभियानका केन्द्रीय सदस्य चिरञ्जीवी भट्टराई पनि एमालेमा पुनः प्रवेश गर्नुभएको छ।
नेकपा एमाले विभाजनका क्रममा एकीकृत समाजवादीमा लाग्नुभएको निरौला लामो समयदेखि सुनसरी जिल्लाको नेतृत्व तहमा सक्रिय रहँदै आउनुभएको थियो। उहाँ एमाले सुनसरीका जिल्ला सचिव तथा अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ भने संविधान सभा सदस्यका रूपमा समेत कार्य गरिसक्नुभएको छ।
एमालेमा फर्किएको पुष्टि गर्दै निरौलाले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभयो। ‘देश सङ्कटमा फस्न लागेको छ, यस अवस्थाबाट जोगाउन राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने आवश्यकता देखिएको छ,’ उहाँले बताउनुभयो।
उहाँले नयाँ नाम र संरचनाको बहानामा देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै आपसी गुनासा र मतभेदलाई थाती राखेर एमालेमा फर्किएको स्पष्ट पार्नुभयो। ‘यो बेला विभाजन होइन, एकता आवश्यक छ,’ उहाँको भनाइ थियो।
पुनर्गठन अभियानका नेतृत्व तहका नेताहरू एमाले फर्किनुले प्रदेश १ (कोशी) को राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने आकलन गरिएको छ। एमाले स्रोतका अनुसार पछिल्लो समय विभिन्न तहका नेताहरू पुनः पार्टीमा फर्किने क्रम बढिरहेको छ।













प्रतिक्रिया दिनुहोस्