झापा, माघ २५ । झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाका बासिन्दाहरूले आफूहरू बहकिने मतदाता नभएको भन्दै ‘देश बनाउने नेता’लाई रोज्ने बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले झापा–५ चेतनशील नागरिकहरूको क्षेत्र भएकाले यहाँ मतदातालाई बहकाउन नसकिने स्पष्ट पारे। कमल गाउँपालिकाको वडा नं. ५ बाट विभिन्न बस्तीका बासिन्दासँग अध्यक्ष ओलीले भेटघाट सुरु गर्नुभएको हो। भेटका क्रममा स्थानीयहरूले अध्यक्ष ओलीलाई स्वागत गर्दै यस क्षेत्रको विकासका लागि उहाँले पुर्याएको योगदान कहिल्यै भुल्न नसकिने उल्लेख गरेका छन् ।
स्थानीय शोभा संग्रौलाले जनतालाई भुल्याउने र बहकाउने नेता नचाहिने बताउँदै आफ्नो क्षेत्र र देशको समग्र विकास गर्न सक्ने नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो। अध्यक्ष ओलीको स्वागतमा उपस्थित ज्येष्ठ नागरिकहरूले अझै केही समय विश्राम नगरी देश निर्माणमा सक्रिय रहन आग्रह गरेका थिए। उनीहरूले अरू कसैको प्रभावमा नपर्ने भन्दै आगामी निर्वाचनमा अध्यक्ष ओलीलाई पुनः विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटघाटकै क्रममा अध्यक्ष ओली स्वर्गीय खम्बा सिंह दर्जीको शोक कार्यक्रममा पनि सहभागी हुनुभएको थियो।
एमाले कमल गाउँकमिटी अध्यक्ष हरी ढकालका अनुसार अध्यक्ष ओलीको क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुग्ने तालिका रहेको छ।













प्रतिक्रिया दिनुहोस्